
काठमाडाैं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायतका दलहरुले निर्वाचन आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेपछि मात्र संसदीय दलको नेता चयन गर्ने जनाएका छन् ।
आयोगले भोली शनिबार प्रतिनिधि सभातर्फ समानुपातिक सांसदलाई प्रमाण पत्र दिने भएको छ । समानुपातिक सांसदले निर्वाचित भएको प्रमाण पत्र बुझेपछि मात्रै संसदीय दलको नेता चयनका बारेमा छलफल अघि बढाइने दलहरुले बताएका छन् ।
नेपाली कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेको छ । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले संसदीय दलको नेता चयन गरेपछि मात्र आगामी सरकार गठन प्रक्रियाबारे छलफल गर्ने सत्ता साझेदार दलहरुले बताउँदै आएका छन् ।
कांग्रेसमा संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, प्रकाशमान सिंह, शेखर र शशांक कोइरालालगायतका नेताहरु आकांक्षी छन् । संसदीय दलको नेता चयन सहमतिमा गर्ने कि चुनावबाट गर्ने भन्ने कांग्रेसले निर्णय गरिसकेको छैन । २०७४ सालको निर्वाचपछि कांग्रेसमा पनि संसदीय दलको नेता चयनमा चुनाव भएको थियो ।
यस्तै नेकपा माओवादी केन्द्रले पनि समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । अन्य दलमा जस्तो संसदीय दलको नेता चयनमा विवाद नभएको माओवादीले जनाएको छ ।
समानुपातिकतर्फबाट निर्वाचित सांसदले आधिकारिक प्रमाणपत्र नलिएको अवस्थामा दलको नेता चयनमा हतारो नगरिएको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताउनुभयो ।
संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल नै चयन हुनेमा माओवादीभित्र एकमत रहेको उहाँको भनाइ छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ माओवादी केन्द्रका १८ र समानुपातिकतर्फ १४ सांसद निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्