
काठमाडौं । तराईका जिल्लाहरुमा शितलहर चलिरहेको छ । शितलहरका कारण जनजीवन प्रभावित बनेको छ ।
यसैबीच, शितलहर र चिसो बढेका कारण मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको छ ।
शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्यांक संकलन गरी कम्बल वितरण गर्ने तयारी सुरु गरिएको मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो ।
प्रदेश सरकारले चिसोबाट जोगिन सन्देशमूलक सूचनासमेत प्रवाह गर्दे आएको जनाएको छ ।
चिसोका कारण कुनै मानवीय क्षति हुन नदिन न्यानो लुगासँगै काठ दाउरा वितरणको कामसमेत अघि बढाउन समन्वय भइरहेको प्रदेश सरकारले जनाएको छ ।
जाडो बढेपछि चोकचोकमा आगो बाल्नको लागि दाउराको व्यवस्था गर्ने तयारी समेत गरिएको छ ।
चिसोबाट मधेस प्रदेशमा वर्षेनी १५ प्रतिशत बढी नागरिक प्रभावित हुने गरेकाछन् । चिसो बढ्दै गएपछि अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतका बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्