
काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ ।
चालू आर्थिक वर्षका लागि सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाखबराबरको बजेट ल्याएको थियो । जसमध्ये मंसिर मसान्तसम्ममा चार खर्ब ३५ अर्ब २१ करोड ११ लाखबराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
यस अवधिमा सरकारको पुँजीगत खर्च करिब ९ प्रतिशत बराबर मात्रै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिर मसान्तसम्ममा संघीय सरकारको पुँजीगत खर्च रु. ३३ अर्ब ९९ करोड १६ लाखबराबर छ ।
चालू आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजाबर बजेट छुट्याएको छ । हालसम्मको पुँजीगत खर्च ८ दशमलव ९४ प्रतिशत बराबर हो । त्यस्तै, चालू शीर्षकमा विनियोजित कुल ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेटमध्ये हालसम्म २९ दशमलव ९४ प्रतिशत खर्च भएको छ । जुन तीन खर्ब ५४ अर्ब २५ करोड ६९ लाखबराबर हो ।
वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख बजेट छुट्याइएकामा मंसिर मसान्तसम्ममा ४६ अर्ब ९६ करोड २६ लाखबराबर खर्च भएको छ । जुन खर्च वित्तीय व्यवस्था शीर्षकमा विनियोजित बजेटको २० दशमलव ४ प्रतिशतबराबर हो । यसरी हेर्दा हालसम्म सरकारको पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थापन शीर्षकमा भएको खर्च बढी देखिएको छ । यही अवधिमा सरकारको राजस्व संकलन २४ दशमलव ५२ प्रतिशतबराबर छ ।
चालू आर्थिक वर्षका लागि कुल १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख आन्तरिक राजस्व उठाउने र ५५ अर्ब ४५ लाख ८३ करोड वैदेशिक अनुदान लिने सरकारको लक्ष्य छ । हालसम्म आन्तरिक राजस्व संकलन ३ खर्ब २६ अर्ब ८९ करोड अर्थात् वार्षिक लक्ष्यको २३ दशमलव तीन प्रतिशतबराबर छ ।
साथै, यस अवधिमा सरकारले ३ अर्ब ४१ करोड ५९ लाख अर्थात् वार्षिक लक्ष्यको ६ दशमलव १६ प्रतिशत वैदेशिक अनुदान लिएको छ ।
प्रतिक्रिया दिनुहोस्