२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सोलुखुम्बुमा ब्याडमिन्टन प्रतियोगिता सुरु


143
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा प्रथम डिबी किराँती (थुलुङ) स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता सदरमुकाम सल्लेरीमा सुरु भएको छ ।

डिबी किराँती (थुलुङ) स्मृति प्रतिष्ठान र जिल्ला ब्याडमिन्टन संघ सोलुखुम्बुको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै सोलुदूधकुण्ड नगरपालिकाका मेयर शेर्पाले जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतियोगिताहरू सञ्चालन गर्नमा सरकारकै मात्र मुख ताक्ने परिपाटी रहेकाले यसलाई सुधार गर्दै सबै आ–आफ्नो क्षेत्रबाट लागि परे नगरपालिका सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ । प्रतियोगितामा १५ बर्ष मुनिको सिङ्गल पुरुषतर्फ १४ जना, खुला महिलातर्फ ८ टिम, खुला पुरुषतर्फ १७ टिम र ३५ बर्ष माथिको डबल पुरुषतर्फ १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

ब्याडमिन्टन प्रतियोगिताको सबै इभेन्ट्समा प्रथम र द्वितीय हुनेलाई क्रमशः नगद १५ हजार रुपैयाँ र ७ हजार ५ सय रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ भने तृतीय हुने दुई जनालाई नगद पाँच/पाँच हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।

तीन दिनसम्म हुने प्रतियोगितामा सोलुखुम्बुसहित ओखलढुङ्गा, खोटाङ, सिन्धुली, काठमाडौं लगायतका जिल्लाहरूबाट खेलाडीले सहभागिता जनाएका छन् ।