२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने कांग्रेस नेताहरुको दावी


793
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दावी गर्नु भएको छ ।

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेता विमलेन्द्र निधिलगायतका प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा काँग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नु स्वभाविक हुने तर्क समेत गर्नु भयो ।

शनिबार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले आयोजना गर्नु भएको सांसदहरुको भेलामा सहभागी हुनु भएका काँग्रेस प्रवक्ता महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्रीमा इच्छा व्यक्त गर्नु भएपनि सरकारको नेतृत्व काँग्रेसले नै गर्नु स्वभाविक हुने प्रतिक्रिया दिनु भयो ।

उहाँले सञ्चारकर्मीमाझ आफ्नै पार्टी नेतृत्वको सरकारलाई देशले र जनताले स्वभाविक रुपमा लिने धारणा समेत राख्नु भयो ।

प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्नेमा काँग्रेस नेता विमलेन्द्र निधि पनि ढुक्क हुनुहुन्छ । उहाँले काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्नु परिस्थितिजन्य निष्कर्ष भएको औंल्याउँदै सोही बाटोमा मुलुक अघि बढने बताउनु भयो ।

नेता निधिले भन्नु भयो, ‘नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ । र, हाम्रो चाहना पनि हो । र, अहिलेसम्मको परिस्थितिजन्य निष्कर्ष पनि हो । प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्छ भन्ने हाम्रो ठम्याई हो ।’

सांसद दिपक खड्काले काँग्रेसकै नेतृत्वमा सरकार बनाउन गठबन्धन दलहरुबीचमा सहमती जुट्ने बताउनु भयो । उहाँले पार्टी संसदीय दलको नेतामा पनि देउवा भारी मतले विजयी हुने अवस्था रहेको बताउनु भयो । सांसद खड्काले भन्नु भयो, ‘ठूलो दल हुनुको नाताले नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने र त्यसको पक्षमा सहमती जुटने विश्वास छ । सांसदहरुको अंकगणितलाई हेर्ने हो भने देउवाले दावी गर्दा त्यही नै भारी हुने देखिन्छ ।’

काँग्रेस नेताहरुले पार्टी संसदीय दलको नेता चयनमा सर्वसम्मतिको प्रयास हुने र त्यो सम्भव नभए पनि देउवानै निर्वाचित हुने दावी समेत गर्नु भएको थियो । नेता निधिले त आफू संसदीय दलको निर्वाचन भए देउवाको पक्षमा उभिने समेत प्रष्टयाउनु भयो ।