
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएको छ ।
नयाँ सरकार गठनको लागि राजनीतिक दलहरूबीच गृहकार्य तीव्र भइरहँदा सभापति लामिछानेले निर्वाचन जितेकोमा बधाई आदानप्रदान गर्ने भन्दै राजनीतिक पार्टीका शीर्ष नेताहरूसँगको भेटघाटलाई तिव्रता दिनुभएको हो ।
लामिछानले शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग ओली निवास बालकोटमा पुगेर भेटघाट गर्नुभएको थियो । अध्यक्ष ओलीसँगको भेटमा निर्वाचन जितेपछिको शुभकामना आदानप्रदान भएको लामिछानेको भनाई छ ।
केही दिनअघि सभापति लामिछानेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गर्नुभएको थियो । भेटको क्रममा लामिछानेले बधाई आदानप्रदान गर्नुका साथै आफूहरू सरकारमा जान तयार रहेको बताउनुभएको थियो । लामिछानले नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरेर २० सिट जितेको छ ।
नयाँ सरकार गठनमा राष्ट्रिय स्वतन्त्र पार्टी महत्वपूर्ण हिस्सा बनेको छ ।
प्रतिक्रिया दिनुहोस्