८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


आफ्नै नेतृत्वमा सरकार बनाउन सांवाद थाल्ने कांग्रेसको निर्णय


221
Shares

काठमाडाैं । नेपाली कांग्रेसले औपचारिक रुपमा नयाँ सरकारको नेतृत्वमा दाबी गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आईतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको लागि गठबन्धन र अन्य राजनीतिक दलहरुसंग संवाद थाल्ने निर्णय गरेको हो ।

बैठकले संवैधानिक व्यवस्थाबमोजिम ठूलो दलले सरकारको नेतृत्वमा दाबी गर्नु स्वभाविक भन्दै आफ्नै नेतृत्वमा सरकार बनाउन संवाद प्रारम्भ गर्ने निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नेतृत्वमा आगामी सरकार गठनका लागि गठबन्धनमा रहेका दलहरु लगायत अन्य दलसँगसमेत संवाद,वार्ता छलफल प्रक्रिया प्रारम्भ गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्तागठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भावी सरकारको नेतृत्वको लागि दाबी गर्नुभएको छ । शनिवार कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटर अध्यक्ष दाहालले गठबन्धनको तर्फबाट प्रधानमन्त्रीमा सहयोग गर्न प्रस्ताव राख्नुभएको थियो ।

माओवादी अध्यक्ष दाहालले पहिलो पालोमा प्रधानमन्त्री हुने इच्छा राख्नु अनुचित नभएको भन्दै कांग्रेसले ठूलो दल भएकाले आफ्नो नेतृत्वमा सरकार बनाउने कांग्रेसले निर्णय गरेको छ ।

बैठकले पार्टी संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाउन केन्द्रीय सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

समिति सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली रहनुभएको छ । आगामी मंगलबार वा बुधबार दलको चुनाव हुने कांग्रेसले जनाएको छ ।

संसदीय दलको नेताको लागि कांग्रेसमा आधा दर्जन नेताहरुले आकांक्षा राखेका छन् । प्रवक्ता डा.महतले पहिलो प्रयास पार्टी सभापतिकै नाममा सहमति जुटाउने हुने तर सर्वसम्मत नभएको अवस्थामा भने लोकतान्त्रिक प्रक्रिया अनुसार निर्णय हुने बताउनुभयो ।