१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘दूर दराजमा मानव अधिकारको प्रत्याभुति गराउन आवश्यक छ’


39
Shares

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सिमान्तकृत समुदायलाई मानव अधिकारको सम्बन्धमा शिक्षा प्रदान गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आइतवार १० औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दूर दराजमा रहेका नागरिकहरुलाई पनि मानव अधिकारको महशुस गराउन आवश्यक रहेको बताउनु भयो ।

अध्यक्ष मगरले सिमान्तकृत र पछिडीएका समुदायहरुमा मानव अधिकार शिक्षा प्रदान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले विटक क्षेत्रमा बसोवास गर्ने नागरिकहरुले पनि मानवअधिकारको प्रत्याभुति गर्नसके मात्रै मानव अधिकारको संरक्षण हुने बताउनु भयो । उहाँले आयोगले पनि कसरी तल्लो स्तरसम्म नै मानव अधिकारको महशुस गराउने भन्नेबारेमा अध्ययन गर्न जरुरी रहेको बताउनु भयो ।

अध्यक्ष मगरले भन्नुभयो, ‘हामीले जो दूर दराजमा छन्, जो पछाडि परेका मान्छे छन्, जो सिमान्तकृत छन्, उनीहरुलाई मानव अधिकारको सम्बन्धमा शिक्षा प्रदान गर्न सक्नुपर्छ । उनीहरुलाई मानव अधिकार के हो ? मानव अधिकारसम्बन्धी अधिकार कसरी संरक्षण हुन्छ भन्नेकुरा बुझाउन आवश्यक छ । मानवअधिकार सम्बन्धी सन्धीहरुको बारेमा पनि बुझाउन जरुरी छ । तल्लो स्तरसम्म मानव अधिकारका कुराहरु लैजान नसक्दासम्म उनीहरुको अधिकारको संरक्षण हुँदैन । हामीले मानव अधिकार कसरी तल्लो स्तरसम्म लैजाने भन्नेबारेमा अध्ययन गर्न जरुरी छ ।’

मानव अधिकारसम्बन्धी अधिकारहरु चलचित्रका माध्यमबाट दूरदराजमा रहेका मानिसहरुलाई बुझाउन आवश्यक रहेको बताउनु भयो । सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १० औँ संस्करण आयोजना भएको आयोजकले जनाएको छ ।

मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा पुस ३ देखि ६ गतेसम्म काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा महोत्सव सञ्चालन भएको हो । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ को नारासहित आयोजना गरिने महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्स, टप अफ द वल्र्ड’ र समापन समारोहमा दीपक रौनियार निर्देशित ‘फोर नाइट्स’ देखाइनेछ । विश्वभरिबाट खुला आवेदनमार्फत सङ्कलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसनलगायत नेपालसहित २५ देशका ६४ चलचित्र महोत्सवमा देखाइने छ ।

नेपालबाट निर्देशक अभिनाशविक्रम शाह, भारतबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टचार्य, कोरियाबाट मावनअधिकार अभियन्ता तथा महोत्सव निर्देशक सुली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा छन् । महोत्सवमा प्रर्दशन गरिने चार विधाका उत्कृष्ट चलचित्रलाई नगदसहित अवार्ड प्रदान गरिने छ ।