१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एम्बाप्पेले इतिहास रच्दा पनि फ्रान्सले जितेन


2.756k
Shares

एजेन्सी । फ्रान्सका केलियन एम्बाप्पेले सन् २०२२ को फिफा विश्वकप फुटबलमा आफ्नो टोलीलाई च्याम्पियन बनाउन सकेनन् । तर फाइनलमा ह्याट्रिक गर्दै उनले इतिहासमा आफ्नो नाम लेखाएका छन् ।

अर्जेन्टिनाका लियोनल मेस्सीले आफ्नो यो विश्वकपमा अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाए । १८ डिसेम्बर राति भएको फिफा विश्वकप २०२२ को फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो । अर्जेन्टिनाले जितेको भएपनि विश्वकपमा ह्याट्रिक सहित कुल ४ गोल गर्ने युवा फ्रान्सेली स्टार केलियन एमबाप्पेको चर्चा पनि विश्वभर भइरहेको छ । किनकि उनले विश्वकपको फाइनलमा ऐतिहासिक ह्याट्रिक गरेका छन् । खेलको ८०औँ मिनेटसम्म अर्जेन्टिना २–० ले अगाडि रहेको थियो । जसले गर्दा आम खेलकूदका दर्शकमा अर्जेन्टिनाले एकतर्फी खेल जित्छ भन्ने लागेको थियो । तर एमबाप्पेले संसारलाई चकित पार्ने गरी अर्जेन्टिनालाई रोक्ने प्रयास गरे ।

पहिलो हाफमा अर्जेन्टिनाले आक्रामक खेल देखाएका कारण फ्रान्स पूर्ण रूपमा दवाबमा देखिएको थियो । पहिलो हाफमा २–० को अग्रता बनाएको अर्जेन्टिनाको यो गोल ७९ औं मिनेटसम्म कायम रह्यो । ७९ मिनेटमा फ्रान्सले पेनाल्टी किक पायो, २३ वर्षीय एमबाप्पेले फ्रान्सका तर्फबाट १ गोल गरे । उनले गोल गरेपछि फ्रान्सका समर्थकहरु सामाजिक सञ्जालमा खुशी मनाइरहेका थिए । फेरि ८१ औं मिनेटमा एम्बाप्पेले बलियो खेल देखाउँदै मार्कस थुरामको सहयोगमा दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । यी दुई गोलमा मात्रै नभई अतिरिक्त समयमा पनि एमबाप्पेले फ्रान्सका लागि एक गोल गरेका थिए र जसका कारण खेल अतिरिक्त समयमा पनि बराबरी भएको थियो र ३–३ मा पुगेको थियो । अतिरिक्त समयमा पनि ३–३ को बराबरीमा खेल पुगेपछि खेल पेनाल्टीमा पुगेको थियो । एमबाप्पेले पेनाल्टी सुटआउटमा पनि एक गोल गरेका थिए र यसरी फाइनल खेलमा ४ गोल गरे । तर आफ्नो टोलीलाई उनले विश्व विजेता भने बनाउँन सकेनन् ।

पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४–२ ले विजयी बन्यो । अर्जेन्टिना यसअघि सन् १९७८ र १९८६ मा विश्वविजेता भएको थियो । फ्रान्सले १९९८ र २०१८ मा विश्वकप जितेको थियो । एमबाप्पेको उत्कृष्ट खेल प्रदर्शन,खेलमा उनको लय आदि कारण उनी विश्वभर चर्चाका खेलाडी बनेका छन् ।