
काठमाडौं । मैलुङ-स्याफ्रुबेँसी खण्डको राजमार्गको सडक निर्माण र सुधार अन्तर्गतका काम लामो समयदेखि रोकिएको छ ।
निर्माण सुधार कामको जिम्मा लिने भारत सिद्विसाही जेभी कन्स्ट्रक्सले करिब १९ किलोमिटर राजमार्ग अन्तर्गत दायाँबायाँका टेवापर्खाल अन्तर्गत सिमेन्ट र ग्याबिन भर्ने काम अलपत्र परेकाे छ । सडक कालोपत्र गर्ने काम छोडेर ३५ करोड रूपैयाँ भूक्तानी लिएपछि निर्माण कम्पनीविना सूचना सम्पर्क विहीन भएको गल्छी, त्रिशुली, मैलुङ र स्याफ्रुबेँसी सडक सुधार आयोजनाले जनाएको छ ।
गत वर्षको फागुनबाट काम अगाडि बढ्न सकेको छैन । यहि पुस मसान्तसम्म निर्माण व्यवसायी कम्पनीको काम गर्ने म्याद बाँकी रहेकाले अर्काे ठेक्का पट्टाको प्रक्रिया अगाडि बढाउन कानूनी समस्या रहेको जनाइएको छ । विगत १० महिनादेखि सम्पर्क विहीन रहेको कम्पनीको ठेक्का तोड्न जमानत जफतका लागि सम्बन्धित बैंक संस्थालाई पत्राचार गरिएको राजमार्ग सुधार आयोजनाका प्रमुख ध्रुवकुमार श्रेष्ठले बताउनुभयो । नुवाकोटको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्म निर्माण सुधार गर्नुपर्ने ६७ किमी मध्ये ३४ किमी राजमार्ग निर्माण सम्पन्न भइसकेको जनाइएकाे छ ।
राजमार्गमा निर्माण गर्नुपर्ने २८ वटा साना ठूला पुल मध्ये हालसम्म १८ वटाको बोलपत्र भई १३ वटा निर्माण सम्पन्न भइसकेका छन् । नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय व्यापारिक राजमार्गको रूपमा विकसित हुँदै गरेको राजमार्ग सुधार निर्माणका लागि हालसम्म मुआब्जा वितरणमा ३अर्ब १४ करोड ९० लाख र निर्माण सुधारतर्फ ५ अर्ब खर्च भएको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्