
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दिनुहुने भएको छ ।
थापाले संस्थापन इतर पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलमा उम्मेदवारी दिने सहमति जुटेको हो । कांग्रेस नेता एवं सांसद डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा थापाले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको छलफलमा सहभागी एक नेताले ईमेजखबरलाई जानकारी दिए । यसको औपचारिक घोषणा भने केही बेरमा हुने पनि ति नेताको भनाइ छ ।

छलफलमा थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति भएको छ । कांग्रेस संसदीय दलको निर्वाचन बुधबार बिहान ८ बजेदेखि हुँदैछ । त्यसका लागि आज मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । कांग्रेसमा प्रतिनिधि सभाका ८९ सांसद रहेका छन् । थापाले निर्वाचनका बेलामा आफूले संसदीय दलमा प्रतिस्पर्धा गर्ने बताउनुभएको थियो । देउवा वा गगन कसले संसदीय दलको नेतामा बाजी मार्ने हुन् त्यो भोली नै थाहा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्