२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संसदीय दलमा अर्को नेताको प्रस्तावक बन्नु देउवाका लागि सम्मानजनक बहिर्गमनः महामन्त्री शर्मा


221
Shares

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रस्तावकको रुपमा आफूले हेर्न चाहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हुने पार्टीको संसदीय दलको नेता चयनको उम्मेदवारीमा पार्टी सभापति देउवालाई प्रस्तावकको रुपमा देख्न चाहेको बताउनुभएको हो । उहाँले देशमा प्रधानमन्त्री भएर देउवाले धेरै राम्रा कामहरु गरेपनि पटक पटक प्रधानमन्त्री बनिरहेको भन्दै राम्रा कामहरुको चर्चा हुन नसकेको बताउनुभयो । उहाँले देउवा प्रधानमन्त्री हुँदा मुक्त कमैया, दलित, महिला र जनजाति लगायतका आयोगहरुको स्थापना हुन सम्भव रहेको बताउनुभयो ।

महामन्त्री शर्माले प्रधानमन्त्री देउवा समक्ष आफ्ना राम्रा कामहरुलाई जनतामाझ चिनाउन अबको संसदीय दलको नेतामा अर्को सदस्यलाई प्रस्तावक बनेर अघि सार्नुपर्ने आवश्यक्ता भएको बताउनुभयो । उहाँले पार्टीको संसदीय नेतामा अर्को सहकर्मीलाई प्रस्तावित गर्नु नै देउवाका लागि सम्मानजनक बहिर्गमन हुने बताउनुभयो । महामन्त्री शर्माले अहिले सबै प्रधानमन्त्री र राष्ट्रपतिका लागि लडिरहेको भन्दै देशलाई अभिभावकको खाचो रहेको स्पष्ट पार्नुभयो ।

उहाँले देशको अभिभावक बन्न कोही नलागेको आरोपसमेत लगाउनुभयो । उहाँले संसदीय दलको नेताका लागि देउवाले अर्को सहकर्मीलाई कुनै हिच्किचाहट छोड्नेमा आफू विश्वस्त रहेको पनि बताउनु भयो । उहाँले संसदीय दलको नेताको रुपमा आफूले पार्टीका महामन्त्री गगनकुमार थापालाई प्रस्तावित गर्नेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।

महामन्त्री शर्माले नेकपा (माओवादी केन्द्र) ले अहिले सत्ताको आकंक्षामा अर्को गठबन्धनको खोजि गर्ने कर्म गरिरहेको भन्दै जनताको मर्मबिरुद्ध जान नहुने बताउनुभयो । उहाँले गठबन्धनले विभिन्न आलोचनाहरुलाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकांक्षा र आग्रह, पूर्वाग्रह भन्दा माथि उठेर जानुपर्ने बताउनुभयो । उहाँले अहिले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सरकारमा जानका लागि अर्को गठबन्धनमा जान लागेको कुरा सञ्चारमाध्यममा आएपनि नेपाली कांग्रेसले शंकाको रुपमा नहेरेको बताउनुभयो । उहाँले नेकपा (माओवादी केन्द्र) ले प्रतिगमनको क्षणलाई बिर्सिनु नहुने बताउनुभयो ।

महामन्त्री शर्माले विगतको भन्दा पृथक ढंगबाट सरकार चलाउन नसके आम मानिसमा राजनीतिक दलहरुप्रतिको भरोसा सकिने स्पष्ट पार्नुभयो । उहाँले श्रमीकको बिमा अभियानका नाममा राष्ट्रव्यापी बिमा अभियान चलाउन जरुरी रहेको बताउनुभयो ।