१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


११ अर्ब बराबरको विद्युत भारततर्फ निर्यात


0
Shares

काठमाडौं । यस वर्षको पुस ३ गतेसम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् नेपाल विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् १९ जेठ २०७९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ ।

सुरुमा दुईवटा जलविद्युत् केन्द्रहरूबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३ सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो ।

प्राधिकरणले गत १८ र ३० कात्तिकबाट थप २ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्न स्वीकृति पाएको थियो । योसँगै ८ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता ४ सय ८ मेगावाट छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७८/०७९को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी २ अर्ब ८३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चालू आर्थिक वर्ष २०७९/८० को पुस ३ गतेसम्ममा १ अर्ब ५ करोड ८६ लाख ३४ हजार युनिट विद्युत् निर्यात गरी ८ अर्ब ३२ करोड ४२ लाख ४० हजार रुपैयाँ आर्जन गरिएको छ ।

चिसो बढ्दा काठमाडौं उपत्यकालगायतको विद्युत् माग बढेको तर, खोलानालामा पानीको बहाव घट्दा नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रहरूबाट उत्पादन कम भएसँगै विद्युत् निर्यात बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।