
काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक भएको छ ।
रमेश एम के पौडेलको निर्देशन एवं निर्माण रहेको चलचित्रको ट्रेलरले प्रेम, धोका र वदलाको भावको कथा प्रस्तुत गरेको छ । चलचित्रमा पुष्पको जोडी साम्राज्ञी र डेब्यु नायिका इमिली लामासँग बाँधिएको छ । पुष्पको दुईतर्फी प्रेम र पुष्पको लागि साम्राज्ञीको एकतर्फी प्रेमले कथामा द्वन्द्व पैदा गरेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
ट्रेलरमा पात्रहरूको खुलासा भएपनि द्वन्द्वको कारण सस्पेन्स राखिएको छ । सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको चलचित्रमा पुष्प, साम्राज्ञी र इमिलीसँगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरूको अभिनय छ ।
सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण यस चलचित्रमा शिव ढकालको छायांकन, सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
पुष २९ देखि देशव्यापी प्रदर्शनमा आउने उक्त चलचित्रमा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेल निर्माता रहेका छन् भने सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्