
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री समेत रहनु भएका पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनु भएको छ ।
संस्थापन समूहबाट उम्मेदवार बन्नु भएका सभापति देउवा ६४ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी पार्टी महामन्त्री गगन कुमार थापाले २५ मत प्राप्त गर्नुभएको छ ।
गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट कांग्रेसका प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी ८९ जना सांसद निर्वाचित भएका थिए । जसमा ५७ प्रत्यक्ष र समानुपातिकमा ३२ जना रहेका छन् । उनीहरू संसदीय दलको नेता चयनका लागि मतदाता हुन् ।
को हुन् देउवा ?
कांग्रेस सभापति समेत रहनु भएका देउवाको जन्म वि.स. २००३ जेठ ३१ गते डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ असिग्राममा भएको हो । गाउँकै असीग्राम प्राथमिक विद्यालयबाट प्राथमिक र सीताराम माध्यमिक विद्यालय डोटीबाट माध्यामिक शिक्षा लिनुभएका देउवा स्कुले जीवनदेखि नै कांग्रेस राजनीतिमा संलग्न हुनुभएको थियो ।
वि.सं. २०२१ मा काठमाडौंको त्रिचन्द्र कलेजमा प्रवेश गरेसँगै देउवाको औपचारिक राजनीतिक सक्रियता सुरु भएको थियो । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा सक्रिय भएर काम गर्नुभएका देउवा २०२८ सालमा सोही संगठनको अध्यक्ष बन्नुभयो । विद्यार्थी राजनीतिबाटै आफूलाई प्रमाणित गर्नुभएका देउवालाई वीपी कोइरालाले सुदुरपश्चिममा पार्टीको जिम्मेवारी दिनुभयो ।
पञ्चायती व्यवस्थाको पतनपछि २०४७ सालमा भएको आमनिर्वाचनमा डडेल्धुराबाट निर्वाचित देउवा २०४८ सालमा गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बन्नुभयो । २०५२ भदौ २७ गते ४९ वर्षको उमेरमा देउवा पहिलो पटक मुलुकको कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्री बन्न सफल हुनुभयो । एकपछि अर्को सफलताको सिढी चढ्न सफल हुनुभएका देउवालाई पार्टीभित्रको संघर्षमा संस्थापक नेताहरु कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको सहयोग थियो ।
माओवादी द्वन्द्वको चरमोत्कर्षका बीच तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले २०५८ साल असारमा पदबाट राजीनामा दिएपछि देउवा संसदीय दलको नेता बन्दै २०५८ साल साउन ११ गते दोस्रो पटक प्रधानमन्त्री बन्न सफल हुनुभयो । तर, कांग्रेसको आन्तरिक कलह र माओवादी द्वन्द्वको मुकाविला कसरी गर्ने भन्ने विवाद बढेपछि २०५९ साल असोज ८ गते प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा गर्नुभयो ।
प्रतिनिधिसभा विघटनसँगै नेपाली कांग्रेस विभाजन भयो । समयसीमाभित्र चुनाव गर्न नसकेपछि तत्कालिन राजा ज्ञानेन्द्रले देउवालाई पदबाट बर्खास्त गर्नुभयो । राजनीतिक तरलता दिन प्रतिदिन बढ्दै गएको हत्याहिंसाको अवस्थाकाबीच माओवादी द्वन्द्वलाई समाधान गर्ने म्याण्डेटसहित देउवा २०६१ साल जेठ २१ गते तेस्रो पटक प्रधानमन्त्री बन्नुभयो ।
तर, माओवादी हिंसा झन चर्किने र चुनाव पनि गराउन नसकेको अवस्थामा तत्कालिन राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते देउवालाई दोस्रो पटक प्रधानमन्त्रीबाट हटाएर र शासनसत्ताको बागडोर आफ्नै हातमा लिनुभयो । शाही ‘कू’ पछि मुलुकको राजनीतिमा कमजोर बन्दै गएका देउवा २०७० सालको दोस्रो संविधानसभाको चुनावपछि भने पुनः पकड जमाउँन सुरु गर्नुभयो ।
राजनीतिक जिवनमा निकै उतारचढाव खेप्नुभएका देउवा सत्तरी वर्षको उमेरमा २०७२ सालमा सम्पन्न पार्टीको तेह्रौं महाधिवेशनमा कांग्रेसमा कोइरालाहरूको विरासत तोड्दै कांग्रेस सभापति बन्न सफल हुनुभयो । प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी ९ वर्षभन्दा बढी जेल जीवन बिताउनुभएका देउवा २०७४ सालको जेठ २४ मा माओवादीको सहयोगमा चौथो पटक प्रधानमन्त्री बन्न सफल हुनुभयो ।
२०७४ सालको चुनावी सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका अन्तिम प्रधानमन्त्री भनेका देउवा अहिले फेरि उनै ओलीलाई विस्थापित गर्दै पाँचौं पटक प्रधानमन्त्री बन्नुभएको छ । राजनीतिसँगै भाग्यमा पनि उत्तिकै विश्वास गर्ने देउवालाई ज्योतिषले सात पटकसम्म प्रधानमन्त्री हुने योग रहेको बताइसकेका छन् ।
नेपाली कांग्रेसको विभाजन पछि उहाँ नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति हुनुभएको थियो । वि.सं. २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा डडेलधुरा जिल्ला क्षेत्र नं. १ बाट विजयी हुनु भएको थियो भने २०६४ र २०७० को संविधान सभा निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुनु भएको थियो । यस्तै, २०७४ र २०७९ को आम निर्वाचनमा पनि डडेलधुराबाटै निर्वाचित हुनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्