१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


वा ! यस्तो पो आतिथ्यता, थारू होमस्टे


1.274k
Shares

शशी पन्त

’प्रकृति र संस्कृति आफैंमा एक विराट विश्वविद्यालय हुन् ।’ कला र संस्कृतिको केन्द्र झैँ रहेको चितवनस्थित मेघौलीको थारू होमस्टेबाट विद्यार्थीहरूले धेरै कुरा सिकुन् भन्ने हाम्रो चाहना थियो । हामी सबैको सर सल्लाह पश्चात यो होमस्टे शैक्षिक अवलोकन भ्रमणका लागि हाम्रो रोजाइमा परेको थियो ।

कात्तिक महिनाको अन्त्यतिर भएकोले भरतपुरको मौसम पनि ठिक्कको थियो । अर्किड स्कुलका कक्षा सातका ११८ जना विद्यार्थी र ६ जना शिक्षक भएर हाकिमचोकबाट मेघौली तर्फ लाग्यौँ। गुडिरहेको बसबाट बाटोको छेउछाउको खेतमा लगाइएको ड्रयागन फ्रुट्सको खेती निकै राम्रो देखिन्थ्यो ।

आँखाले भने त्यो मनमोहक दृश्यको भरपुर लाभ उठाइरहेका थिए । तर दुरी छोटो भएकोले ४५ मिनेटमा नै हामी गन्तव्यमा पुगिहाल्यौँ । थारू पोशाक र गरगहनाले चिटिक्क परेर सिँगारिएका महिलाहरूले हाम्रो स्वागत गरे । उनीहरूको विनम्रता र स्वागत देखेर हामी अचम्म भयौँ । पाहुनालाई झुकेर स्वागत गर्ने थारू महिलाहरू हामीले भन्ने गरेको अतिथि देवो भवलाई अक्षरश ! पालना गरिरहे जस्तो लाग्थे । सबैको अनुहार हँसिलो अनि बोलिमा विनम्रता, पहिलो पटक भेट हुँदा पनि पहिलेदेखि चिनेझैँ निकट व्यवहार यस्तो शिष्टताले आनन्द लाग्दोरहेछ ।

थारू होमस्टेको आकर्षक भनेको त्यहाँको सांस्कृतिक सङ्ग्रहालय, सांस्कृतिक नृत्य अनि थारू खाना रहेछन् । एकदिनको यात्रा भएपनि विद्यार्थीहरूका लागि अविष्मरणीय रहोस् भनी सांस्कृतिक नृत्य हेर्ने बन्दोबस्त गरेका थियौँ । सबैजसो विद्यार्थीहरूले यो थारू सांस्कृतिक नृत्य पहिलोपटक देखेको हुनाले त्यो दृश्य उनीहरूको लागि चुम्बकीय थियो । अझै उनीहरूले हरेक नाचको विशेषता पनि बताइदिएको हुँदा विद्यार्थीहरूमा झनै रोचकता थपिएको थियो ।

थारू नाचघर नजिकै रहेको थारू सङ्ग्रहालयमा थारू जातिको जन्मदेखि मृत्युसम्म झल्काउने चित्र र सामानहरू सजाएर राखिएको रहेछ । त्यहाँ राखिएका सबैजसो सामानहरू स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनबाट उनीहरू आफैले तयार पारिएका थिए। सबै जातिका आ आफ्ना विशेष प्रकारका खानेकुरा भएझैँ थारूहरूले घरमा बनाउने चिचर, घोगी र हाँसको छोइलाले निकै ख्याति कमाएको रहेछ । हामीले पनि त्यस दिनको खाजामा हाँसको छोइला र चिचर खाने निर्णय पहिले नै गरिसकेका थियौँ । तर थारू खानाको स्वाद जिब्रोमा पहिलोपटक परेको हुनाले कसैलाई निकै स्वादिलो लाग्यो भने कसैलाई त्यति मिठो लागेन ।

यहाँ आउने पर्यटक बस्नको लागि हाल आठवटा होमस्टे सञ्चालन गरिएको रहेछ। चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको हुनाले यहाँ आउने पर्यटकले प्राकृतिक मनमोहक सौन्दर्यको भरपुर आनन्द उठाउन सक्ने रहेछन् ।थारू होमस्टे पुगेर पर्यटकीय स्थल गोलाघाट नपुगी फर्किँदा यात्रा अधुरै रहेको मानिन्छ । दुई वटा नदीको सङ्गम स्थल रहेको अनि सूर्यास्तको मनमोहक दृश्य देखिने ठाउँ जुन थारू होमस्टेबाट नजिकै रहेको छ । हामी पनि नदीको किनारमा एकछिन टहलिन पुग्यौँ ।

छोटो तर रमाइलो यात्राबाट हामी अत्यन्तै मोहित भयौँ। मस्तिष्कभरि उमङ्ग बोकेर हामीले बिदाइको हात हल्लाउँदै आफ्नो एकदिनको रमाइलो यात्रालाई किनारा लगायौँ । त्यहाँका मानिसहरूको मनमा हामी भिडभित्रका पाहुना थियौँ तर हाम्रो मनमा भने उनीहरूको हँसिलो अनुहार अविष्मरणीय बनेर बसेको छ ।