१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकार गठनका लागि दलहरुको कसरत जारी


455
Shares

काठमाडौं । नयाँ सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडानका कारण सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीचका पछिल्ला छलफलहरु निष्पर्कमा पुग्न सकेका छैनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच पटक पटक भएका छलफलमा सरकारको नेतृत्व गर्ने विषयमा सहमति नहुँदा निष्कर्षविहीन भएको छ ।

शुक्रबार साँझ भएको छलफलमा दुवैले पहिलो प्रधानमन्त्रीमा अडान राखेपछि शनिबार पुनः वार्ता गर्ने समझदारी भएको छ  ।

देउवा, दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार पनि छलफल भएको थियो  ।

शीर्ष नेताहरू अडानमा रहँदा दोस्रो तहका नेता पनि दौडधुपमा छन् । आलोपालो गर्ने गरी सुरूको दुई वर्ष आफूलाई सरकारको नेतृत्व दिन दाहालले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासँग औपचारिक प्रस्ताव यसअघि नै राख्नुभएको छ ।

प्रधानमन्त्री देउवाले पनि ताजा जनादेशअनुसार कांग्रेस संसद्को ठूलो शक्ति भएकाले आगामी सरकारको नेतृत्व आफैं गर्ने बताउनुएको छ ।

यता, वैकल्पिक सरकारका लागि प्रयास गरिरहेको नेकपा (एमाले) ले सत्ता गठबन्धन भत्काउने विषयलाई उच्च प्राथमिकतामा राखेको छ  ।

मुलुक असफल राष्ट्र हुनबाट जोगिन अहिलेको सत्तारूढ गठबन्धन भत्किन आवश्यक रहेको निष्कर्षसहित एमाले वैकल्पिक पक्षमा उभिएको हो  ।

केन्द्रीय सचिवालयको बिहीबारको बैठकले असफल हुँदै गएको अर्थतन्त्र, राजनीतिक अस्थिरता र अराजकताबाट मुलुकलाई जोगाउन गठबन्धन भत्किन आवश्यक रहेको निष्कर्ष निकालेको छ  ।

सत्तारूढ गठबन्धनलाई नै निरन्तरता दिने गरी सत्तापक्षीय दलहरू शक्ति बाँडफाँटमा केन्द्रीत रहेका बेला एमालेले वैकल्पिक गठबन्धनका लागि अग्रसरता लिएको संकेत दिएको हो  ।

नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणअघि ओलीनिवास बालकोटमा बसेको बैठकमा ओलीले अहिलेकै गठबन्धन कायम रहे मुलुक असफल राष्ट्र बन्ने जोखिमतिर लम्किएको दाबी गर्दै स्थिरताका लागि आवश्यक भूमिका खेल्नुपर्ने बताउनुभएको थियो ।