२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


दाङमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन, पुस १५ गते हुने


91
Shares

काठमाडौं । पाँच वर्षे कार्यकाल पूरा गरेका सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन यहि पुस १५ गते लुम्बिनी प्रदेशको राजधानी दाङमा हुने भएको छ ।

सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिनका लागि भन्दै सम्मेलन गर्न लागेका हुन् । दाङको देउखुरीमा हुने सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले तयारी समेत अगाडि बढाएको छ । प्रदेशको स्थायी राजधानी देउखुरीको भ्रमण गराएर यहि मुख्यमन्त्रीहरूको सम्मेलन गर्न लागिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी दिनुभयो ।

२०७७ असोज २० गते प्रदेश सभाको बैठकले देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । मुख्यमन्त्री कार्यालयले देउखुरीबाट यहि मंसिर २८ गतेबाट काम गर्न सुरु गरिसकेको छ । अन्य मन्त्रालयहरू अब छिट्टै नै सार्ने तयारी थालिएको छ । यसका लागि देउखुरीमा मन्त्रालयका भवनहरुको टुंगो लगाउने काम पनि अन्तिम चरणमा पुगेको मुख्यमन्त्री केसीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता तथा सचिव नरेन्द्रकुमार रानाले पुस १५ गते मुख्यमन्त्री सम्मेलन गर्ने करिब टुंगो लागिसकेको बताउनुभयो । मुख्यमन्त्री केसीको निमन्त्रणामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, मधेश प्रदेशका लालबाबु राउत, बागमती प्रदेशका राजेन्द्रप्रसाद पाण्डे, गण्डकी प्रदेशका कृष्णचन्द्र नेपाली, कर्णालीका जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशका सरकार प्रमुख त्रिलोचन भट्ट सम्मेलनमा सहभागी हुन देउखुरी आउने जनाइएकाे छ ।