
काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिँदै गर्दा सत्ता गठबन्धनका नेताहरुको दौडधूप जारी छ ।
आइतबार साँझ ५ बजे राष्ट्रपतिले दिएको समयसीमा सकिनु अघि सहमति जुटाउनका लागि नेताहरुको दौडधूप जारी रहेको हो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार बिहान आफू पक्षीय पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको छ ।
यसैगरी, देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच पनि बालुवाटारमै ‘वान टु वान’ वार्ता भईरहेको छ ।
दाहालसँगको वार्तालगत्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पनि देउवाले वार्ता गर्नुहुने बुझिएको छ ।
त्यसपछि गठबन्धनबीच सामूहिक वार्ता हुने जनाइएको छ । गठबन्धनमा तीन पार्टीबीच प्रधानमन्त्रीको कार्यकाल बाँड्ने सहमति भए पनि पहिले को प्रधानमन्त्री बन्ने भन्ने सहमति नजुट्दा समस्या उत्पन्न भएको छ ।
कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालले पहिलो दुई वर्षको कार्यकाल आफू प्रधानमन्त्री बन्न पाउनु पर्ने अडान नछाड्दा गठबन्धन नै धरापमा पर्ने हो कि भन्ने आशंका पनि जन्मिएको छ ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउन दलहरुलाई दिएको सात दिनको समय आइतबार साँझ ५ बजे सकिंदैछ ।
प्रतिक्रिया दिनुहोस्