२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


सत्ता गठबन्धन रहला कि भत्किएला ?


1.417k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतसहित नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज साँझ ५ बजे सकिदैछ ।

त्यसअघि सत्ता गठबन्धनमा रहेका दलका नेताहरुबीच छलफल चलिरहेको छ । वर्तमान सत्ता गठबन्धनमा सहभागी दलहरुको बैठक आइतबार बिहान १० बजे बस्ने भनिएपनि साढे ११ बजे मात्रै सुरू भएको थियो । नेपाली कांग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा भइरहेको छलफलमा गठबन्धन अब के होला भन्ने चासो बढेको छ ।

राष्ट्रपतिले बहुमत सहित नयाँ प्रधानमन्त्रीका लागि सिफारिस गर्न दिएको समयसीमा सकिन लाग्दा दलहरु गठबन्धनबाटै नयाँ प्रधानमन्त्रीमा सहमति जुटाउन अन्तिम कसरतमा लागेका हुन् । गठबन्धनमा सहभागी दलहरुबीच खास गरी कांग्रेस र माओवादीबाट आलोपालेमा को पहिला प्रधानमन्त्री बन्ने भन्नेमा सहमति जुटेको छैन । कांग्रेसबाट वर्तमान प्रधानमन्त्री देउवा आफू नै पहिला प्रधानमन्त्री हुनुपर्छ भन्ने अडानमा हुनुहुन्छ भने माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल आफू पहिला प्रधानमन्त्री बन्नु पर्ने अडानमा हुनुहुन्छ ।

यी दुवै नेताको अडानले गठबन्धन भत्किएला कि रहला भन्ने प्रश्न उब्जिएको हो । दुबैले सहमति नभए एमालेसँग मिल्न सक्ने कार्ड पनि फालेका छन् । कांग्रेस माओवादीबीच नयाँ प्रधानमन्त्री पहिला को बन्ने भन्ने कुरामा सहमति नभए गठबन्धन भत्किने निश्चित छ । त्यसको टुंगो आजै लाग्नेछ ।