
काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले महिलाहरुलाई कुनै पनि गैरसरकारी संघ संस्थामा काम गर्न नपाउने गरी प्रतिबन्ध लगाएपछि त्यहाँ कार्यरत ३ वटा मुख्य एनजीओले आफ्ना काम रोक्ने भएका छन् ।
केयर इन्टरनेसनल, दी नर्वेजियन रिफुजी काउन्सिल र सेभ द चिल्ड्रेनले संयुक्त विज्ञप्ति जारी गर्दै महिला कर्मचारीहरु बिना आफूहरु कामलाई निरन्तरता दिन असमर्थ रहेको जनाएका हुन् । दातृ समूहहरुले महिलाहरुलाई काममा निरन्तरता दिन माग गरिरहेको बताइएको छ ।
अफगानिस्तानको सत्तारुढ तालिवानले महिलाहरुको अधिकार कुण्ठित गर्दै आएको छ । तालिवान सरकारको अर्थ मन्त्रालयका प्रवक्ता अब्देल रहमान हबिबले विदेशी दातृ समूहहरुमा काम गर्ने अफगान महिलाहरुले हिजाब नलगाएर नियम तोडेको बताएका छन् ।
साथै, तालिवान सरकारले प्रतिबन्धको पालना नगर्ने कुनै पनि संस्थाको अनुमतिपत्र रद्द गरिने चेतावनी समेत दिएका छन ।
प्रतिक्रिया दिनुहोस्