२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


बुटवलका डिएसपी ठगबहादुर केसी पक्राउ


3.003k
Shares

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुन कारोबर सम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा लाखौं नगद फेला परेको प्रहरी स्रोतले बताएको हाे । प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट गएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हाे ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले केसीमाथि छानबिन सुरू गरेको थियो । केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरी स्रोतको भनाइ छ। केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ ।

व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो । यसअघि नै इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडौंबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ ।

करिब १३ महिना अघि केसी बुटवल गएका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले प्रहरी प्रधान कार्यालयको निर्देशनमा केसीमाथि अनुसन्धान गर्ने जनाएकाे छ ।