१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जसपा संसदीय दलको नेता चयनका लागि आज निर्वाचन


156
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको नेता चयन बुधबार हुने भएको छ ।

जसपाले संसदीय दलको नेता चयन गर्न मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिका अनुसार बुधबार बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । यस्तै, १२ देखि दिउँसो १२ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने र १२ः३० देखि १ः३० बजेसम्म नाम फिर्ता लिने कार्यतालिका छ ।

दिउँसो १ः३० देखि दिउँसो २ बजेसम्म दावी विरोध गर्ने र दिउँसो २ देखि २ः३० बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । त्यसपछि २ः३० देखि ३ः३० सम्म मतदान हुने र साढे ३ बजेपछि मतदानको परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् ।

जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले दाबी गर्दै आएका छन् । उनीहरुबीच सहमति नजुटेकोले मतदानमार्फत नै दलको नेता छान्ने तयारी गरिएको हो ।