
काठमाडाैं । अन्दोलनरत पूर्वका उद्योगी व्यवसायीहरुले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग चालू पुँजी कर्जा मार्गदर्शन र उच्च ब्याजदरको माग सम्बोधन गर्न आग्रह गरेका छन् ।
अर्थमन्त्री पौडेलले मंगलवार पूर्वका उद्योगी व्यवसायीहरुलाई आन्दोलन छाडेर वार्ता बोलाएपश्चाद काठमाडौं आएका पूर्वका उद्योगी व्यवसायीहरुले चालु पुँजी कर्जा मार्गदर्शन र उच्च ब्याजदरको माग सम्बोधन गर्न माग गरेका हुन् ।
उद्योग वाणिज्य महासंघका वस्तुगत संघहरुले अर्थमन्त्रीसँग बैंकर र व्यवसायी तत्कालन छुट्याउन माग गरेका छन् ।
उद्योगी व्यवसायीहरुले अर्थमन्त्रीलाई बैंकहरुको सेवा शुल्क घटाउन तथा तरलता सहज बनाउनका लागि कर्जा निक्षेप अनुपातको सट्टा पुँजी, कर्जा तथा निक्षेप अनुपात लागू गर्नुपर्ने माग समेत राखेका छन् ।
अर्थमन्त्रीसँगको छलफल पश्चात् मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले अहिलेको अवस्थामा पुँजी कर्जा तथा निक्षेप अनुपात लागू लगायतका व्यवसायीका मागमा अर्थमन्त्री सकारात्मक देखिएको बताउनु भयो ।
उहाँले आन्दोलन छाडेर अर्थमन्त्रीसँगको वार्ता सकारात्मक भएको बताउनु भयो । उहाँले अर्थमन्त्री पौडेलले व्यवसायीहरुका माग सम्बोधनको लागि केही दिन धैर्य गर्न आग्रह गरेको भन्दै व्यवसायीहरुको माग सम्बोधनको लागि निर्णय गर्दा व्यवसायीहरुलाई राखेर नीति बनाउने बताउनुभएको जानकारी दिनुभयो ।
उहाँले अर्थमन्त्री व्यवसायीहरुको मागप्रति सकारात्मक भएकाले माग सम्बोधन भए अर्थतन्त्रले गतिलिने बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पूर्वका उद्योगी व्यवसायीहरुले राखेका ब्याजदर वृद्धि रोक्न,तरलता सहज बनाउन र पुनःकर्जाको किस्ता तिर्ने समय थप लगायतका मागमा अर्थमन्त्री सकारात्मक रहेको बताउनु भयो । उहाँले अर्थमन्त्री पौडेलले चाँडै व्यवसायीहरुको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको जानकारी दिनुभयो ।
त्यस्तै, उद्योगी मोतिलाल दुगडले बैंकहरुले उद्योगी व्यवसायीहरुलाई असहयोग गरेकाले व्यापारीहरु पीडित भएको बताउनु भयो । उहाँले अर्थमन्त्रीले आज भोलि नै समस्या समाधान हुन नसके पनि चाँडै समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको बताउनु भयो ।
व्यवसायीहरुले बैंकहरुको सेवा शुल्कमा ५० प्रतिशत घटाइनु पर्ने माग राखेका छन् । व्यवसायीहरुले अर्थमन्त्री समक्ष पुस मसान्तमा २० प्रतिशत पनि उद्योगीले बैंकको सावाँ ब्याज तिर्न नसक्ने जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्