
काठमाडाैं । कर्णाली प्रदेश सभामा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एमालेले संसदीय दलको नेता चयन गरेका छन् । आजको बैठकबाट दुवै दलले सर्वसम्मत दलको नेता चयन गरेका हुन् ।
नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा निर्वाचित हुनुभएको छ । माओवादीभित्र दलको नेताका लागि चार जना दाबेदार थिए ।
कालीकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट, कृष्ण जिसी र रूकुम पश्चिमका राजकुमार शर्मामध्ये दलले शर्मालाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।
शर्मा रूकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। उनी यसअघि माओवादी केन्द्रको प्रदेश अध्यक्ष हुनुहुन्थ्यो । शर्मा ०७४ को स्थानीय तह निर्वाचनपछि गठन भएको जिल्ला समन्वय समिति रूकुम पश्चिमको प्रमुख हुनुभएको थियो ।
यस्तै, नेकपा एमालेले यामलाल कँडेललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको छ । आजै बसेको प्रदेश कमिटीको बैठकले स्थायी कमिटी सदस्यसमेत रहेका कँडेललाई सर्वसम्मत रूपमा दलको नेता गरेको हो ।
उहाँको प्रस्तावकमा दैलेखका विनोद कुमार शाह र समर्थकमा जुम्लाका टेकराज पछाई छन् । कँडेलका प्रस्तावक रहेका शाह पनि दलको नेताका लागि दाबेदार हुनुहुन्थ्यो ।
२०७४ मा पनि कँडेल नै प्रदेश सभा दलको नेता थिए। पूर्व पर्यटनमन्त्री समेत रहेका कँडेल २०७४ यता कर्णाली प्रदेश सभा सदस्य चयन हुनुभएको छ ।
यो पटकको निर्वाचनबाट उहाँ गठबन्धनका कालीप्रसाद शाक्यलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । यस्तै, एमालेको प्रदेश कमिटी बैठकले कर्णाली प्रदेशमा आफ्नै नेतृत्वमा पहिलो चरणमा सरकार गठन गर्न केन्द्रीय कमिटीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्