१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


म्यान्चेस्टर सिटी दोस्रो स्थानमा उक्लियो


637
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ ।

सिटी लिड्स युनाइटेडलाई ३–१ ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो ।

आफ्नै मैदानमा बुधबार राति भएको खेलमा सिटीलाई विजयी गराउन अर्लिङ ब्रट हालान्डले दुई र रोड्रीले एक गोल गरे । पराजित टोली युनाइटेडका पास्कल स्ट्रुइकले एक गोल फर्काए ।

खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । ५१ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई २–० अघि बढाए । ६४ औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए ।

यो खेलमा दुई गोल गरेका हालान्डले इंग्लिस प्रिमियर लिग फुटबलमा सर्वाधिक छिटो २० गोल पूरा गर्ने किर्तीमान बनाएका छन् । यसै सिजनको सुरूमा सिटीमा प्रवेश गरेका हालान्डले १४ खेलमै २० गोल पूरा गरेका हुन् ।

त्यसपछि ७३ औं मिनेटमा पास्कलले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । बाँकी समयमा थप गोल नहुँदा सिटी ३–१ ले विजयी भयो ।

यो जितसँगै सिटीको १५ खेलबाट ३५ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानको आर्सनलको ४० अंक छ । पराजित लिड्स १५ अंक जोडेर १५ औं स्थानमा छ ।