२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मुद्दा फछ्यौटमा सर्वोच्च अदालत सबैभन्दा पछाडि


143
Shares

काठमाडौं । सर्वोच्च अदालतका १९ न्यायाधीश र नेपाल बार एशोसिएसनले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध गरेका छुट्टाछुट्टै आन्दोलनका एजेण्डा भने समान थिए । न्यायिक आन्दोलनले राणाको बहिगर्मन त भयो नै । तर के बार र न्यायाधीशले चाहे जस्तो न्यायालयमा सुधार आयो त ? न्यायालय शुद्धिकरणको माग कता पुग्यो ? सरोकारवालाहरु भने राणाको बर्हिगमनपछि सुधारको छनक देखिएको दावी गर्छन ।

न्यायिक आन्दोलनपछि महाभियोगका कारण १० महिनासम्म सर्वोच्च प्रवेशै नगरी पूर्व प्रधानन्यायाधीश राणा महाअभियोगको आरोप टुंगो नलागेकै अवस्थामा उमेर हदले अनिवार्य अवकासमा जानुभयो । राणाको निलम्बनपछि दीपककुमार कार्कीले ६ महिना कायम मुकायम प्रधानन्यायाधीश भएर सर्वोच्च अदालतको जिम्मेवारी सम्हाल्नुुभयो । अहिले वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले पनि कामु प्रधानन्यायाधिशकै रुपमा सर्वोच्चको बागडोर सम्हालेको करिब ३ महिना बितिसकेको छ ।

राणा पछिका २ कामु प्रधानन्यायाधीशको कार्यकालमा अदालतमा विशेषगरी बेञ्च सेटीङ, न्याय परिषद बैठक, न्यायाधीश नियुक्ति र चौथो मुद्दा फछ्यौटमा सुधार आएको बताइन्छ । मुद्दा अदालतमा आइपुग्नुअघिदेखि फैसला गर्ने बेलासम्मै पक्ष र विपक्षहरूसँग पैसाको मोलमोलाइ गर्ने र परिवारका सदस्यदेखि वकील र न्यायाधीशसम्मलाई बिचौलिया बनाउने गरेको सबै भन्दा ठुलो आरोप राणा माथि थियो ।

यस्ता ठूला मुद्दामा पेसी तोक्दा आफूनिकट न्यायाधीशको इजलासमा राख्ने र चाहे जस्तो आदेश र फैसला गराउने गरेको आक्षेप राणामाथि संगीन आक्षेप थियो । राणा प्रधानन्यायाधीश रहँदा सर्वोच्च अदालतका न्यायाधीशबीच नै आन्तरिक द्वन्द्व थियो भने राणाले सर्वोच्चको नेतृत्व नै गर्न सक्नुभएको थिएन । राणा बहिर्गमनपछि न्यायपरिषद्ले कार्यक्षमता, आचरण र योग्यताको अभाव देखिएको भन्दै न्यायापरिषद्को ईतिहासमा नै सबैभन्दा धेरै न्यायाधीशलाई बर्खास्त गरेको छ । राणा सर्वोच्चको नेतृत्वकर्ता हुँदा गर्न नसकेका गोला प्रथाबाट पेशी व्यवस्थापन, न्यायाधीश नियुक्तिलगायत बहुआलोचित विषयमा सुधार आएको दाबी पूर्वमहासचिव नेपाल बार लीलामणि पौडेल बताउनुहुन्छ ।

तीन तहको अदालतमा मुद्दा फछ्यौटमा सबैभन्दा पछाडि सर्वोच्च अदालत छ । सर्वोच्चमा झन्डै ३० हजार हाराहारी मुद्दा विचाराधिन छन् । तीमध्ये पाँच वर्ष नाघेका मुद्दा ४ हजार ५ सय ८५ र दुई वर्ष नाघेका १७ हजार बढी छन् । सर्वोच्चले पुराना मुद्दा फछ्र्योटको लागि छट्टै कार्ययोजना नै बनाएर अघि बढेको छ । पुराना मुद्दा फछ्यौटका लागि सर्वोच्चले छुट्टै इजलासल गठन गरेर सुनुवाई गरिरहेको छ । विगत वर्षमा विभिन्न कारणले मुद्दा फछ्यौटमा समस्या देखिए पनि अहिले फछ्यौटको संख्यामा वृृद्धि आएको र काम गर्ने वातावरण अनुकूल रहेको सवोच्च अदालतका प्रवक्ता बिमल पौडेलले बताउनुहुन्छ ।

कुनै व्यक्ति र विभिन्न कारण खस्किएको न्यायालयको गरिमा जोगाउने चुनौति अबका न्यायाधीशमाथि छ । केही महिनायता सर्वोच्च अदालतमा धेरै सुधारका कार्य प्रशस्त देखिए पनि ती पर्याप्त छैनन् । बहालवाला प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले न्यायालय सुधारको लागि बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सर्वोच्च प्रशासनमाथि नैतिक दवाव थपेको छ ।