२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भुवा पर्व लोप हुने अवस्थामा


312
Shares

बझाङ । सुदूरपश्चिम प्रदेशमा भस्सो तथा भुवा पर्वको रौनक छाएको छ । प्रतेक वर्ष पुस महिनामा यहाँ भुवा पर्व मनाइने गरिन्छ । भस्सो अर्थात् भुवा खेल सुदूरपश्चिममा सात दिनभन्दा बढी समयसम्म खेल्ने गरिन्छ । युद्धकालीन अभ्यास संस्कृतिका रुपमा यो पर्व मनाइने गरिन्छ । तर पछिल्लो समय यो पर्व लोप हुने खतरा देखिएको छ ।

ढाल र तरवारसहित नाचिने भुवा पर्व बझाङका केही स्थानमा सुरु भएको छ । कौरब र पाण्डबको युद्धको सम्झनामा नाचिने यो पर्व प्रत्येक वर्षको पौष औंसीका दिन मशाल बालेर सुरु हुन्छ । जिल्लाका १२ वटा पालिकाका झण्डै ३० भन्दा बढी गाउँमा यो पर्व मनाइँदै छ । औंसीको दिन गाउँका प्रत्येक घरबाट मुढा माग्ने र राती भुवा नाच्ने चौरमा ठूलो आगो बालेर हातमा राको सल्काइ भुवा नाचको सुरुवात गरिन्छ ।

राको नहालिकन यसको सुरुवात भएको मानिँदैन । एकसय कौरबको हार र पाँच भाई पाण्डवको जितको खुशियाली मनाउन तथा परापुर्व कालदेखि खैल्दै आएका कारण आफुहरुले पनि खेल्दै आएको स्थानीय बताउँछन् । पुरुषहरु गाउँगाउँ पुगेर भस्सो खेल्छन् भने बुढापाका र महिला भुवाखाडामा भारीखेल, डेडा खेलेर रमाइलो गर्ने प्रचलन रहेको छ ।

पछिल्लो समय भुवाका साथै अन्य संस्कृति पनि लोप हुने अवस्थामा पुगेको छ । सामाजिक संजाल टिकटक, फेसबुक तथा अन्य माध्यमबाट विदेशी संस्कृति भित्रिएको र युवाले आफ्नो संस्कृतिप्रति चासो नदिएका कारण पनि लोप हुने खतरा बढेको हो । युद्धको समयमा कौरव र पाण्डवबीच भएको भिडन्तको कथालाई एक समूहले लयात्मक शैलीमा भट्याउने र अर्काे समुहले हात र खुट्टाको चालमा नाच्ने गर्दछन् । भुवाको विषेश आर्कषर्णमा चाली नाच, ठाडो भस्सो भारी खेल जस्ता नाच र गायनहरु पर्दछन् ।

युवाको चाँसो कम हुनुले भुवा पर्वको जगेर्ना गर्न गाह्रो भएको वडा नम्बर ७ का वडा अध्यक्ष रमानन्द जोशीले बताउनुभयो ।

लयात्मक शैलीमा भट्याउने मान्छेहरुको कमी हुनु कारण पनि भुवा पर्व लोप हुने अवस्थामा पुगेको हो ।