५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा जनकपुर रोयल्सकाे जित


468
Shares

काठमाडाैं । नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्सलाई ४९ रनले पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा भएको खेलमा १ सय ९० रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन मात्र बनायो । विराटनगरका लागि हुसेन तलतले सर्वाधिक ४२ रन बनाउँदा प्रदिप सिंह ऐरीले अविजित ३६ रन बनाए । जनकपुरका लागि शमिउल्लाह शिनवारीले ३ तथा ललित नारायण राजवंशीले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन बनायो । जनकपुरको लागि समिउल्लाह शिनवारीले सर्वाधिक रन बनाए । विराटनगरका हुसेन तलत र सूर्य तामाङले समान २÷२ विकेट लिए । पाँच खेल खेलेर ४ जित हात पारेको जनकपुर ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । पाँच खेल खेलेर दुई जित हात पारेको विराटनगर २ अंकका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले अपराजित लुम्बिनी अल स्टारमाथि ९ विकेटको जित हात पारेको छ । लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पोखराले १८.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । पोखरालाई जित दिलाउने क्रममा आरिफ शेख र आसिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरे ।

लुम्बिनीका लागि किशोर महतोले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.५ ओभरमा अलआउट हुँदै १ सय २७ रन बनायो । लुम्बिनीका लागि हरमित सिंहले ३८ तथा श्याड्ली भानले १६ रन बनाए । पोखराका विपिन खत्री र जाहिर खानले समान ३÷३ विकेट लिए । हारका बाबजुत पनि लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । सात खेल खेलेर दोस्रो जित हात पारेर ४ अंक सहित पोखरा अंक तालिकाको पाँचौ स्थानमा रहेको छ ।

डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।