१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आर्सनल र म्यानचेस्टर युनाइटेड विजयी, म्यानचेस्टर सिटी भने रोकियो


143
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेस्टर युनाइटेड विजयी हुँदा म्यानचेस्टर सिटी एभर्टनसँग बराबरीमा रोकिएको छ ।

शनिबार राति भएका खेलमा आर्सनलले ब्राइटनलाई र युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई पराजित गरेका हो भने सिटी एभर्टनसँग बराबरीमा रोकिएको हो ।

तालिकाको शिर्ष स्थानमा रहेको आर्सनलले ब्राइटनलाई ४–२ ले हराएको हो । आर्सनलको लागि बुकायो साका, मार्टिन ओडेगागार्ड, एडवार्ड एनकेटीह र ग्गाब्रियल मार्टिनेलीले एक एक गोल गरे । ब्राइटनका काओरो मितुमा र इभाँ फेर्गुसनले दुई गोल फर्काए ।

खेलको सातौं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । ३९ औं मिनेटमा ओडेगागार्डले गोल गर्दै आर्सनललाई दोब्बर अग्रता दिलाए । ४७ औं मिनेटमा एनकेटीहले गोल गर्दै आर्सनलको अग्रता ३–० को बनाए । ६५ औं मिनेटमा ब्राइटनका मितुमाले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । ७१ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई ४–१ को अग्रता दिलाए । त्यसपछि ७७ औं मिनेटमा ब्राइटनका फेर्गुसनले गोल गरेपनि आर्सनल ४–२ ले विजयी भयो ।

अर्को खेलमा युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हराएको हो । युनाइटेडका लागि मार्कस रास्फोर्डले निर्णायक गोल गरे ।

खेलको ७६ औं मिनेटमा उनले गोल गरेका हुन् ।

लिगको उपाधि दावेदार सिटीलाई भने एभर्टनले १–१ गोलको बराबरीमा रोकेको छ । खेलमा घरेलु टोली अर्लिङ ब्रट हाल्याण्डले पहिलो गोल गरेपनि एभर्टनका डेमाराई ग्रेले बराबरी गोल गरेका हुन् ।

खेलको २४ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, ६४ औं मिनेटमा ग्रेले गोल गर्दै एभर्टनलाई १–१ गोलको बराबरीमा ल्याए ।

प्रिमियर लिगका अन्य खेलहरुमा क्रिष्टल प्यालेसले बर्नमाउथलाई २–० ले हराउँदा फुल्हमले साउथह्याम्पटनलाई २–१ ले पराजित गरेको छ ।

शनिबार रातिका खेलहरुपछि प्रिमियर लिगको अकं तालिकामा १६ खेलबाट ४३ अंक जोडेको आर्सनल शिर्ष स्थानमा छ । समान खेलबाट ३६ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहँदा एक खेल बढी खेलेको न्युकासल युनाइटेड ३४ अंकसहित तेस्रो स्थानमा रहेको छ । १६ खेलबाट ३२ अंक जोडेको म्यानचेस्टर युनाइटेड चौथो स्थानमा उक्लिएको छ ।