
काठमाडाैं । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन स्थायी राजधानी दाङको देउखुरीमा आज साेमबारदेखि सुरू हुने भएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभा सदस्यहरुले शपथ लिएको भोलिपल्ट प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएकाे हाे ।
प्रदेशको सभाको नवनिर्मित भवनमा दिउँसो १ बजे सुरु हुने अधिवेशनमा सोमबार दुई वटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ ।पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वान सम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्बाेधन गर्ने कार्यसूची रहेको प्रदेश सभाकाे सचिवालयले जनाएकाे छ ।
दोस्रो बैठकमा ज्येष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गर्न प्रस्ताव गर्ने कार्यसूची रहेको छ । बैठकमा राजनीतिक दलहरुको तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेकाे छ । लुम्बिनी प्रदेश सभामा यसपटक १० दलको प्रतिनिधित्व रहेको छ । अधिवेशन सुरु भएपछि सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्ने भएकाे छ ।
पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानूनी व्यवस्था रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्