१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपराष्ट्रपति दाबी गरेर संसद छिर्ने दाउमा उपेन्द्र यादव


1.157k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएपछि गठबन्धनमा रहेका दलहरु शसंकित बनेका छन् ।

दाहाललाई संसदको दोस्रो ठूलो दल नेकपा एमालेसहित ७ दलीय गठबन्धनले प्रधमामन्त्री बनाउन समर्थन गरेको हाे । दाहालले पुष १० गते प्रधानमन्त्री नियुक्त ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको थियो ।

अहिले माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), र नागरिक उन्मुक्ति पार्टी सरकारमा गएका छैनन् । तर समर्थन भने गरेका छन् ।

गठबन्धनमा रहेका तर सरकारमा नगएका दलहरुले भागवण्डामा बखेडा झिकेको खण्डमा आफूले विश्वासको मत नपाउने होकि भन्ने शंका दाहालमा रहेकाले नै विश्वासको मत पाएपछि मात्रै दाहालले मन्त्रिपरिषद विस्तार गर्न खोज्नु भएको एक माओवादी नेताले बताए ।

अहिले नै मन्त्रिपरिषद विस्तार गर्दा एमाले र माओवादी बाहेक अरु पार्टीका सांसदले मन्त्री बन्न नपाउँदा विश्वासको मत नदिने हुनकि भन्ने डर प्रधानमन्त्री दाहालमा छ ।

तसर्थ विश्वासको मत लिएपछि दुइ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने हुनाले दाहालले विश्वासको मत पहिला लिन खोज्नु भएको र त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो ।

प्रधानमन्त्रीमा दाहाललाई समर्थन गरेको जसपाले आफ्नो पार्टीलाई उपराष्ट्रपति र उपप्रधानमन्त्रीसहित ३ वटा मन्त्रालयको माग गरेकाे छ । तर अहिलेसम्म यसबारे गठबन्धनमा छलफल भने भएको छैन । तर जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उपराष्ट्रति पाउनु पर्ने कुरा राखिसक्नु भएको छ ।

के सम्भावना छ त जसपाले उपराष्ट्रपति पाउने ?

एमाले र माओवादीबीच सरकार बनाउँदा प्रधानमन्त्री र उपराष्ट्रपति माओवादीले पाउने राष्ट्रपति र प्रतिनिधि सभाको समामुख एमालेको भागमा राख्ने सहमति बनेको स्रोतको दाबी छ । त्यसैले जसपाले भनेजस्तो उपराष्ट्रपति पाइनै हाल्ने अवस्था देखिदैन । माओवादीले दाबी छोडेको खण्डमा मात्रै जसपाले उपराष्ट्रपति पाउन सक्छ ।

उपराष्ट्रपति दाबी गरेर संसद छिर्ने उपेन्द्रको दाउ

गत मंसिर ४ गते भएको आम निर्वाचनमा सप्तरी क्षेत्र नम्बर –२ बाट उम्मेदवार बन्नुभएका जसपाका अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भारी मतान्तरले पराजित हुनु भएको थियो । तर उपेन्द्र पराजित भए पनि यही संसदमा छिर्ने दाउमा हुनुहन्छ ।

त्यो भनेको उपनिर्वाचनमार्फत हो । जसपाका एक नेताका अनुसार उपराष्ट्रपति पद आफ्नो पार्टीले पाउँदा प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्रनम्बर–२ बाट निर्वाचित रामसहाय यादव वा सप्तरी क्षेत्र नम्बर –१ वाट निर्वाचित नवलकिशोर साह मध्ये एकजनालाई उपराष्ट्रपति बनाउने र त्यहाँ उपनिर्वाचनमार्फत प्रतिनिधि सभामा छिर्ने उपेन्द्रको योजना हो ।

किनकि तराइ मधेशको राजनीतिमा आफू संसद प्रवेश नगर्दा भविष्यमा आफू मधेशमा कमजोर हुने आकलन उपेन्द्रको छ ।
त्यसकारण पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन समर्थन गरेको जसपाले शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रम हेरेर मात्र सत्तामा जाने÷नजाने निर्णय गर्ने बताउँदै आएको छ ।

उप–निर्वाचनको लागि सांसद पद रिक्त गराउन जसपा अध्यक्ष उपेन्द्रले आफ्नो पार्टीलाई सत्ता गठबन्धनले उपराष्ट्रपति पद दिनुपर्ने माग गरिरहनु भएको हो । तर प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली जसपालाई उपराष्ट्रपति दिनेबारे अहिले मौन हुनुहन्छ ।

जसपामा यसअघि सरकारमा जाने/ नजाने निर्णयबारे राजनीतिक समिति हुँदै कार्यकरिणी समितले निर्णय गर्थ्याे । कार्यकरिणी समितले पनि त्याे निर्णय गर्न नसके अध्यक्षले गर्नुहुन्थ्याे । तर यस पटक भने त्यसकाे ठिक उल्टाे भएकाे छ । सरकारमा जाने/ नजाने बारे निर्णय गर्न कार्यकरिणी समितिले अध्यक्षलाई नपठाइ राजनीतिक समितिलाई पठाएकाे छ ।

जसपाका एक नेताका अनुसार उपेन्द्र उपनिर्वाचनमार्फत चुनाव जितेर उप्रधानमन्त्रीसहित सरकारमा जाने साेच बनाएका छन् । त्यसैका लागि उहाँले अहिलेसम्म कसैलाई पनि सरकारमा पठाउने निर्णय गरेका छैनन् ।

त्यसमा बोल्दा गठबन्धन भत्किने डर दुवै नेतामा छ । अहिले जसरी पनि थामथुम पारेर विश्वासको मत लिइहाल्ने र त्यसपछि हेरौंला भन्ने रणनीतिमा प्रधानमन्त्री दाहाल रहनु भएको छ ।

यस्तै गठबन्धनमा रहेका अरु दलहरुले पनि प्रभावशाली मन्त्रालयको माग गरेका छन् । ती सबैलाई आश्वासन दिएर अहिले फकाएर विश्वासको मत पहिला लिने प्रधानमन्त्री दाहालको योजना छ । जसपाले माग गरे अनुसार उपराष्ट्रपति पद त्यति सहजै पाइहाल्ने अवस्था छैन ।