
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले क्रिस्टल प्यालेसलाई हराएको छ ।
बुधबार राति भएको खेलमा टोटनह्यामले क्रिस्टल प्यालेसलाई ४–० ले हराएको हो ।
टोटनह्यामको जितमा ह्यारी केनले दुई गोल गर्दा म्याट डोहेर्टी र सन ह्युङ मिनले एक एक गोल थपे ।
खेलको ४८ औं मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । ५३ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामलाई दोब्बर अग्रताले अघि बढाए । ६८ औं मिनेटमा डोहेर्टीले गोल गर्दै टोटनह्यामलाई ३–० ले अघि बढाए । त्यसपछि ७२ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटनह्यामलाई ४–० को जित दिलाए ।
जितसँगै टोटनह्याम अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । १८ खेलबाट टोटनह्यामको ३३ अंक भएको छ । क्रिस्टल प्यालेस २२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
प्रिमियर लिगका अन्य खेलमा नटिङहम फरेस्टले साउथह्याम्टनलाई १–० ले पराजित गर्दा लिड्स युनाइटेड र वेस्ट ह्याम युनाइटेडले २–२ गोलको बराबरी तथा एस्टन भिल्ला र वुल्भरह्याम्पटन वान्डरर्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रतिक्रिया दिनुहोस्