
सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले ७ दिनभित्र सरकार गठनको दाबी पेश गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।
प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र सरकार गठनको दाबी गर्न आह्वान गर्नुभएको हो ।
प्रदेशसभामा कुनै पनि दलले बहुमत नभएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलको नेताको नेतृत्वमा सरकार गठन हुनेछ ।
४० सदस्य रहेको कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, नेकपा (माओवादी केन्द्र) का १३ जना, नेकपा (एमाले) का १०, राप्रपा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद एक/ एक जना छन् । केन्द्रको समीकरण अनुसार सहमति भए सत्तागठबन्धनका दलहरुको नेतृत्वमै सरकार बन्ने निश्चित छ ।
सरकारको नेतृत्व नेकपा एमाले वा माओवादी केन्द्र कसले गर्ने भन्ने विषयमा गठबन्धनमा सहमति जुट्न भने सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्