
काठमाडाैं । राहदानी विभागको सफ्टवेयरमा देखिएको समस्या समाधानका लागि यसको व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ ।
त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गर्दै सेवा रोकेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेवाग्राहीलाई लाइनमा राखेर दु:ख दिने विभागीय अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएकै दिन विभागले सफ्टवेयरमा समस्या देखिएको भन्दै सेवा रोकेको थियो । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि अन्तर्राष्ट्रिय कम्पनी अइडिमियाले आफ्ना विशेषज्ञ पठाएको हो ।
टोलीले सफ्टवेयरमा देखिएको समस्या पहिचान गर्ने र यसलाई सुधार्ने विश्वास गरिएको छ । प्रधानमन्त्री कार्यालयको प्राविधिक टोली र विभागकै प्राविधिकले पनि समस्यामा बारेमा अध्ययन गरिरहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तत्काल देखिएको प्राविधिक समस्या हल गर्ने र लामो लाइनमा बस्नु नपर्ने गरी छिटो छरितोरुपमा राहदानी सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन प्रधानमन्त्रीले यसअघि नै निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्