११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


हत्या गरिएका दुई किशोरी र खुनाका परिवारलाई जनही पाँच लाख दिने प्रदेश सरकारको निर्णय


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, भदौ ११ । प्रदेश नम्बर–७ सरकारले बलात्कारपछि हत्या गरिएका दुई किशोरीका परिवार र आन्दोलनकाक्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका सन्नी खुनाको परिवारलाई जनही पाँच लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

सोमबार बसेको प्रदेश–७ को मन्त्रिपरिषद बैठकले तीनओटै घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा आन्तरिक तथा कानुन मन्त्रालयले राहत उपलब्ध गराउनका लागि ठाडो प्रस्ताव गरेको थियो ।

मन्त्रिपरिषद बैठकले गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कन्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्त र निर्मलाको परिवारलाई न्याय दिनुपर्ने मागसहित भएको आन्दोलनकाक्रममा मृत्यु भएका भीमदत्त नगरपालिका वडा नम्वर–१८ का १४ वर्षीय सन्नी खुनाको परिवारलाई पाँच/पाँच लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

यसैगरी, प्रदेश मन्त्रिपरिषद बैठकले गत असार १२ गते सामूहिक बलात्कारपछि हत्या गरिएकी कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर–११ की २१ वर्षीया माया विकको परिवारलाई पनि पाँच लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।