२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


जिल्ला अस्पताल पाँचथरमा थप सेवा विस्तार, सेवाग्राही हर्षित


52
Shares

पाँचथर । पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित थप सेवा विस्तार भएकाे छ ।

अस्पतालमा थप सेवा विस्तार भएसँगै सेवाग्राही हर्षित भएका हुन् । भवन निर्माण सम्पन्न भएपनि जनशक्ति र औषधि उपकरणको अभाव रहेपनि पाँचथर अस्पतालले विशेषज्ञ चिकित्सकसहित सेवा दिन थालेकाे हाे । भर्खरै मात्र ५० शैयाको अस्पतालको भवन निर्माण सम्पन्न भएको यस पाँचथर अस्पतालमा अहिले जेनरल सर्जरी डाक्टर प्रान्जल चन्द्र पौडेल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर देउमान लिम्बु र एनेसथेसियोलिष्ट एण्ड क्रिटिकल केयर डाक्टर गणेश बमलाई विशेष डाक्टरको रुपमा अस्पतालले नियुक्ति दिएको हो ।

अब नयाँ विशेषज्ञ डाक्टर आएपछि यस अस्पतालबाट हाडजोर्नी तथा नसा रोग ओ.पि.डी.सेवा, हाडजोर्नी रोग सम्बन्धी शल्यक्रिया सेवा, जनरल सर्जन ओ.पि.डी.सेवा, जनरल सर्जरी सम्बन्धी शल्यक्रिया सेवा र एनेस्थेसिया सेवा (शल्यक्रिया गर्दा बिरामीहरुलाई बेहोस बनाउने) सेवा बिरामीहरुलाई दिन थालिएको पाँचथर अस्पताल विकास समितिका अध्यक्ष रामराज आङदेम्बेले बताउनुभयो ।

पूर्वीपहाडी जिल्लाका वासीन्दाले राम्रो स्वास्थ्य सेवा पाउन कठिन भईरहेका बेला केही जनशक्ति व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । अहिले अस्पतालमा ४ जना विशेषज्ञ डाक्टर रहेका छन् । जिल्ला अस्पताल व्यवस्थापन समिति आफैंले खर्च व्यहोर्ने गरी हाडजोर्नी तथा नसा रोग विशेषज्ञ राखिएको छ । त्यस्तै, छात्रवृत्तिमा रहेका दुई जना डाक्टरलाई अस्पतालले थप सुविधा दिएर राखेको छ । अहिले अस्पतालमा जेनेरल सर्जन, एनएसथ्येसोयोलोजिष्ट तथा क्रिटिकल केयर विशेषज्ञ रहेका छन् । अपस्तालका प्रमुख भने एमडिजिप हुनुहुन्छ।

५० शैयाको अस्पतालको भवन भए पनि अझै १५ शैयाकै मात्र दरबन्दी रहेको छ । त्यस्तै अस्पतालमा रहेको भेन्टिलेटर जनशक्ति नहुँदा सञ्चालन हुन सकेको छैन् । श्रोत र जनशक्ति भएमा आईसियु सेवा, इन्डोस्कोपी सेवा, ल्याबकोली सेवा र फिजियोथेरापी सेवा संचालन गर्न सकिने अस्पतालले जनाएको छ ।

अहिले जिल्ला अस्पताल पाँचथरबाट नि:शुल्क नवजात शिशु रोग सेवा, नि:शुल्क प्रसुति सेवा, स्वास्थ्य विमा सेवा, सामाजिक सुरक्षा सेवा,एकद्धार लैंगिक संकट ब्यवस्थापन सेवा र नि:शुल्क सुक्षित गर्भपतन सेवा लगायतका सेवाहरु संचालन भइरहेको अस्पतालका हेल्थ असिस्टेन्ट सोमनाथ दंगालले बताउनुभयो ।

पाँचथर, ताप्लेजुङ र तेह्रथुम आठराई गाउँपालिकाको केन्द्रको रुपमा रहेको पाँचथर अस्पतालबाट यी सेवाहरु नहुँदा नागरिकहरु तराईका सुविधा सम्पन्न अस्पतालमा जान बाध्य भएका थिए ।