१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतसँगको सीमा नाकालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्छ: राजेन्द्र मल्ल


52
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भारतसँगको सीमा नाकालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल भारत खुला सीमा नाकाको फाइदा उठाएर अवैध कारोबार भइरहेको उहाँले बताउनुभएकाे हाे । अध्यक्ष मल्लले सीमाबाट हुने अवैध व्यापारका कारण सरकारले राजस्व समेत गुमाइरहेको बताउनुभएको हो । कैलाली चेम्बर अफ कमर्सले धनगढीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले भारत खुला सीमाको फाइदा उठाएर झण्डै ४० प्रतिशत अवैध कारोबार भइरहेको बताउनुभयो ।

मुलुकको व्यापारिक सन्तुलनका लागि आयात निर्यातलाई पनि व्यवस्थित गराउन आवश्यक रहेको भन्दै अध्यक्ष मल्लले आयातलाई व्यवस्थित गरेर निर्यात प्रवर्द्धन गर्नका लागि सरकारसँग हातेमालो गर्न चेम्बर अफ कमर्स तयार रहेको बताउनुभयो । सरकारले करको दायरा फराकिलो पारेर राजस्व प्रणालीलाई चुस्त बनाउनुपर्नेमा जोड दिँदै उहाँले कर राजस्व प्रशासनलाई प्रभावकारी बनाउन केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

अनुशासित व्यवसाय र पारदर्शी करप्रणाली सम्बन्धमा निजी क्षेत्र सदैव प्रतिवद्ध रहेको अध्यक्ष मल्लको तर्क छ ।