
काठमाडौं । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित जनप्रतिनिधिविरुद्ध १३ वटा रिट दर्ता भएका छन् । आश्चर्य त के छ भने २०७४ को निर्वाचन सम्बन्धी १४ वटा मुद्दामा सर्वोच्च अदालतले पाँच वर्ष बितिसक्दा रिटको टुङ्गो लगाउने जाँगर देखाएको छैन । रिट हाल्ने जनप्रतिनिधि अर्को चुनावमा विजयी बनिसक्दा पनि न्यायको बाटो नखुल्नुले न्यायालयमा न्याय कति दुर्लभ छ भन्ने पुष्टि हुन्छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा गत मंसिर ४ मा सम्पन्न निर्वाचनसँग सम्बन्धित १३ वटा रिट दर्ता भएको छ । ती मध्य भर्खरै निर्वाचित प्रतिधिसभा सदस्य ७ र ४ प्रदेश सभा सदस्य गरि ११ जनाविरुद्ध छ । यस्तै, एउटा रिट निवेदन भने समानुपातिक निर्वाचन प्रणालीको कानून संविधान विपरित भएको भन्दै परेको छ ।
निर्वाचनमा पराजित उमाशंकर अरगियाले निर्वाचित सांसद रामकृष्ण यादव, महेन्द्र यादवले रघुविर महासेठ, डम्मबरबहादुर खड्काले सुवासचन्द्र नेम्वाङ र सुरेन्द्र चौधरीले राजकुमार गुप्ता विरुद्ध पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको छ । पुनः निर्वाचनको माग गर्दै एकीकृत समाजवादी नेता झलनाथ खनालले महेश बस्नेत र गणेश पौडेलले विष्णु पौडेललेविरुद्ध रिट दर्ता गर्नुभएको छ । यसैगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सांसद पदमा अयोग्य भएको भन्दै अधिवक्ता युवराज पौडेल र रविराज बसौलाले रिट दर्ता गर्नुभएको थियो ।
यस्तै, प्रदेश सभा तर्फ निर्वाचित सदस्यविरुद्ध कालिप्रसाद शाक्य, रविदत्त मिश्र, सुकेश्वर यादव र विदेश्वर यादवले रिट दर्ता गर्नुभएको हो । गृहमन्त्री लामिछानेको मुद्दामा फैसला गर्न हतार गरिरहेको सर्वोच्चले बाँकी प्रतिनिधि सभा सदस्यविरुद्धको मुद्दामा प्रारम्भिक सुनुवाइ मात्र गरेको छ । तर प्रदेश सभा सदस्यको मुद्दा भने सर्वोच्चको प्राथमिकतामा पर्न सकेको छैन ।
कुनै पनि विषय अदालतमा प्रवेश भइसकेपछि समयमानै निर्णय हुनुपर्नेमा पाँच वर्ष अघि परेका निर्वाच सम्बन्धि १४ वटा रिट मध्य एउटा पनि मुद्दा टुङ्गो लागेको छैन । अझ रोचक त के छ भने एकातिर सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ भने अर्को तिर उही विपक्षीलाई हराएर ३ जना यसपालिको निर्वाचनमा संघीय सांसद निर्वाचित भएका छन् ।
२०७४ मा कांग्रेसका दीपक खड्काले एमालेका विजयी राजेन्द्र गौतमविरुद्ध रिट दर्ता गर्नुभएको थियो । तर अदालतले मुद्दा छिनोफानो नगर्दै गौतमलाई नै हराएर खड्का विजयी हुनुभएको छ । यस्तै, विजयकुमार गच्छादार विरुछ मुद्दा हालेकी एमालेकी भगवती चौधरीले यसपालि गच्छादारलार्ई नै पछि पार्दै जीत हासिल गर्नुभयो । यस्तै, २०७४ मा तनहुँ २ मा पराजित भएपछि रिट दर्ता गरेका प्रदिप पौडलेले यसपालीको निर्वाचनमा जीत हासिल गर्नुभयो । तर न्याया दिनुपर्ने अदालतले भने अहिलेसम्म टुङ्गो लगाउन चासो दिएको छैन ।
प्रतिक्रिया दिनुहोस्