३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


प्रधानमन्त्री प्रचण्डले आज संसदमा विश्वासको मत लिने

'कांग्रेस बाहेकका सबै दल विश्वासको मत दिन तयार'

143
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार संसदमा विश्वासको मत लिने हुनुभएको छ ।

मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नु भएको हो ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा यही पुस १० प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले एक महिना अगावै विश्वासको मत लिन लागेका हुन् ।

प्रचण्ड सरकारमा सहभागी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, तथा सरकारमा जाने तयारीमा रहेको राप्रपालगायतका दलहरुले विश्वासको मत दिने पक्का छ ।

यस्तै प्रधानमन्त्री बनाउन समर्थन दिएका जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने छन् । नेकपा (एकीकृत समाजवादी) र केही स्वतन्त्र सांसदहरुले पनि विश्वासको मत दिने सम्भावना छ ।

प्रचण्डले भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग समेत विश्वासको मत माग्नुभएको छ । कांग्रेसले निर्णय गरिसकेको छैन ।

२७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।