
काठमाडाैं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएर आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले गण्डकीमाथि २५–११, २५–१० र २५–१५ को जित निकालेको हो ।
जितसँगै आर्मीले समूह ‘बी’ बाट लगातार दोस्रो जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । आर्मीले २ खेलमा ६ अंक जोडेको छ ।
गण्डकीको यो लगातार दोस्रो हार हो । च्याम्पियनसिप अन्तर्गत महिलातर्फ आजै भएको अर्को खेलमा एभरेष्ट भलिबल क्लबले नयाँ बजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।
एभरेष्टले नयाँ बजारलाई २५–१२, २५–१२ र २५–१४ ले हराएको हो । च्याम्पियनसिप अन्तर्गत आज पुरुषतर्फ ४ खेल हुँदैछ । पुरुषतर्फको पहिलो खेलमा न्युटन भलिबल एकेडेमी र ढोरपाटन स्पोर्टस क्लबबीच खेल हुनेछ । पुरुषतर्फको दोस्रो खेलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच खेल हुनेछ ।
तेस्रो खेलमा टिपटप हेल्प नेपाल र केशवलाल भलिबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै पुरुषतर्फको चौथो तथा दिनको अन्तिम खेलमा जावलाखेल भलिबल क्लब र शैलुङ्ग भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्