
परासी । नवलपरासीको रामग्राम नगरपालिका–८ लोसहडास्थित एक पोल्ट्री फर्म(कुखुरा फर्म)बाट ६३ लाख बढीको अवैध चिनी बरामद भएको छ ।
सुराकीको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको २६ नं. हेड क्वाटर र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले पोल्ट्री फर्मबाट चिनी बरामद गरेको हो ।
करिब चार सय बोरा चिनी रहेको सुराकी पाएर गएको संयुक्त टोलीले फर्मभित्र १६ सय बढी बोरामा चिनी लुकाएको अवस्थामा फेला पारेको हो । ठूलो परिणामको चिनी बरामदपछि चिनी लैजान ट्रकको आवश्यक परेपछि प्रहरीले बोलाएका ट्रकसमेत तस्करको धम्कीपछि फिर्ता भएका थिए ।
उनीहरुले ट्रक पठाए जे पनि हुने धम्की दिएपछि व्यवसायीले ट्रक नपठाउँदा समस्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भोजराज पाण्डेयले बताउनुभयो । ट्रक नआएपछि सशस्त्र र नेपाल प्रहरीको पिकअप गाडीले शनिबार बिहानसम्म चिनी प्रहरी कार्यालय पठाएको थियो ।
स्थानीय धर्मेन्द्र यादवको पाल्ही एग्रो फर्मबाट बरामद भएको चिनीको परिमाण ८४१ क्विण्टल (१६८३ बोरा) छ । ५० केजीको बोरा रहेको चिनीको मूल्य करिब ६३ लाख ११ हजार रहेको डिएसपी पाण्डेले बताउनुभयो ।
चिनी बरामदपछि कुखुरा फर्मका सञ्चालक यादव भने फरार छन् । चिनी बरामद भएको स्थान सदरमुकाम परासीदेखि करिब ५ कि.मि.को दुरीमा छ । फर्मभित्र अवैध सामान फेला परेपछि त्यसका सञ्चालक पनि कानुनी दायरामा आउने र थप अनुसन्धानसहित आवश्यक कारबाहीका लागि राजश्व कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
सीमा नाकाबाट हुने अवैध कारोबारलाई नियन्त्रण गर्न नसकेको भन्दै केही दिनअघि जिल्ला प्रहरी कार्यालयका एसपी ऋषिराम कँडेल र सशस्त्र प्रहरीका एसपी रुप कुमार क्षेत्री हेड क्वाटर तानिएका थिए । त्यस लगत्तै जिल्ला प्रहरी कार्यालयले सीमा नाकाका चौकी इन्चार्जलाई समेत जिल्ला तानेको थियो ।
तस्करमा संलग्न भएको आशंकामा मातहतका प्रहरीलाई तानेको केही दिनपछि फेरि ठूलो परिणाममा चिनी बरामद भएको हो । यसले सीमा क्षेत्रका चौकीमा पठाइएका नयाँ इन्चार्जमाथि मिलमतोको आशंका उठेको बताइएको छ । त्यसबारे अनुन्धान भइरहेको डिएसपी पाण्डेयले बताउनुभाये । तस्करी बढेको आलोचनापछि प्रहरी हेड क्वाटरको टोली आएर नवलपरासीका सीमावर्ती क्षेत्रमा अनुसन्धान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्