
काठमाडौं । काठमाडौबाट पोखराका लागि उडेको यती एयरको विमान आइतबार अवतरणको क्रममा दुर्घटनामा पर्यो । दुर्घटनामा परि चालक दलका सदस्यसहित ७२ जना यात्रु मध्य अधिकांशको मृत्यु भएको छ । दुर्घटनामा देशले डाक्टर, पाइलट, कलाकार, पत्रकारसम्म गुमाएको छ ।
५३ जना नेपालीसहित ५ भारतीय, ४ रसियन, २ कोरियन र १/१ अर्जेन्टीनी, अस्ट्रेलीयन, आईरीस र फ्रान्सेली नागरिक सवार विमान दुर्घटनामा एकै परिवारका ४, डाक्टर दम्पती र गायिकाको पनि निधन भएको छ ।
दुर्घटनामा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. सुशील श्रेष्ठ, उनकी श्रीमती डा. सोना दिवार र १० महिने शिशुको मृत्यु भएको छ । पोखरा निवासी डा. श्रेष्ठले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट अर्थोपेडिक सर्जरीमा एमडी गर्नुभएको थियो भने गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा समेत काम गर्नुभएको थियो । २ वर्षदेखि ट्रमा सेन्टरमा कार्यरत डा. श्रेष्ठ आज सपरिवार सहित घर जाँदै हुनुहुन्थ्यो ।
यस्तै, दुर्घटनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पनि ज्यान गुमाउनुभयो । काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा उहाँ दुर्घटनामा परि ज्यान गुमाउनुभएका पौडेल माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपाध्यक्ष र तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक समेत हुनुहुन्थ्यो ।
यस्तै आजको दुर्घटनामा लोकगायीका निरु छनत्यालको पनि निधन भएको छ । बागलुङमा हुन लागेको सांगीतिक कार्यक्रममा सहभागी उहाँ त्यसतर्फ जाँदै हुनुहुन्थ्यो । क्याप्टेन कमल केसीले उडाएको जहाजमा को पाईलट अञ्जु खतिवडा हुनुहुन्थ्यो ।
सन् २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा पति दीपक पोखरेललाई गुमाएपछिक खतिवडाले यही पेशालाई अङ्गाल्नु भएको थियो । पतिको निधनपछि अमेरिका गएर पाईलट पढ्नु भएकी खतिवडाको आजको अन्तिम उडान सफल भएको भए पाईलट बन्नु हुन्थ्यो ।
यस्तै, अन्तर्राष्ट्रिय विमानस्थलकी एयर ट्राफीक कन्ट्रोलर सरस्वती डुम्रेको पति, सासु ससुरा र दुई सन्तानको समेत निधन भएको छ । काठमाडौंबाट उडेको उक्त जहाज अवतरणका लागि अनुमति लिइसकेपछि विमानस्थलभन्दा दुई किलोमिटर पर सेतीको खोँचमा दुर्घटनामा परेको हो ।
प्रतिक्रिया दिनुहोस्