२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


फरेन्सिक विज्ञ टोली पोखरा जाँदै


234
Shares

काठमाडौं । पोखरामा विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञलाई पोखरा पठाइने भएको छ ।

हालसम्म फेला परेका शवमध्ये २६ जनाको पहिचान भएको छ । दुर्घटनास्थलबाट निकालिएको शवहरु पोखरा स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा जाने बताइएको छ ।

दुर्घटनामा मृत्यु भएकाको पहिचान तथा पोष्टमार्टमका लागि विज्ञ चिकित्सक समेटिएको राष्ट्रिय टिम बनाइने भएको छ । पोखरा र काठमाडौंका विज्ञ चिकित्सकसहितको टिम बनाउन लागिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिनुभयो ।

खत्रीका अनुसार पोखरामा आफन्त भएका नागरिकको शवलाई प्रतिष्ठानमा पोष्टमार्टम गर्ने र अन्य चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीले प्रतिष्ठानमा शव राख्ने फ्रिजको अभाव हुने भएकाले काठमाडौंमै ल्याउनपर्ने बाध्यता रहेको बताउनुभयो । प्रोटोकल अनुसार शवलाई छुट्टा–छुटै पोस्टमार्टम गर्न नमिल्ने उहाँको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुर्घटनामा परेका मृतकको फरेन्सिक जाँच र शव पहिचानका लागि सम्भावित आउने सक्ने ‘केस’ व्यवस्थापनका लागि उपत्यकाका अस्पताललाई ‘अलर्ट’ रहन समेत निर्र्देशन दिएको छ ।