२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


पोखरा विमान दुर्घटना : सनाखत नभएका शव आज काठमाडौं ल्याइने


156
Shares

काठमाडौं । गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाको शव आफन्तलाई बुझाउन थालिएको छ ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सोमबार साँझदेखि मात्र शव परीक्षण सुरू गरिएको थियो । बाँकी शवको परीक्षण भइरहेकाले र मंगलबार बिहान आफन्तलाई हस्तान्तरण गरिने अस्पताल प्रशासनले जनाएको छ ।

दुर्घटनामा हालसम्म फेला परेका ७० शवमध्ये २४ जनाको मात्र पोखरामा परीक्षण हुने र विदेशी नागरिक, पहिचान नखुलेका र चालक दलका सदस्यको शव काठमाडौंस्थित शिक्षण अस्पतालमा शव परीक्षण हुनेछ । ती शवलाई हेलिकप्टरबाट मंगलबार काठमाडौं ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि काठमाडौंदेखि आएका फरेन्सिक विज्ञसहितको टोली खटिएको छ । पोखराको सेती खोँचमा भएको सो विमान दुर्घटनमा परी ज्यान गुमाएका ७० जनाको शव फेला परेको छ भने बाँकी दुई यात्रुको अवस्था भने अझै अज्ञात छ ।

सोमबार दिनभर भएको खोजीमा पनि शव फेला नपरेपछि मंगलबार बिहान पुनः खोजी गरिने भएको छ ।

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको बिमान पोखरामा दुर्घटनाग्रस्त भएको हो । उक्त विमानमा ४ चालक दलसहित ७२ जना सवार थिए ।

यस्तै, उद्धार टोलीले जहाजको ‘ब्ल्याक बक्स’ पनि सरकारले गठन गरेको जाँच आयोगलाई बुझाइसकेको प्राधिकरणले जनाएको छ ।