२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिम सभामुखका लागि आज तेस्रो पटक निर्वाचन हुँदै


143
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि मंगलबार तेस्रो पटक निर्वाचन हुँदैछ ।

प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकेको हो । सभामुख चयन हुन नसकेपछि मंगलबार फेरि निर्वाचन हुन लागेको हो ।

यसअघि पुस २८ गते र ३० गते भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन ।

प्रदेश सभामुख पदका लागि नेकपा (माओवादी केन्द्र) बाट भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार रहेका छन् । पुस २८ गते भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक/एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन । पुस ३० गते भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसेको थियो ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) का ४ र राप्रपाका एक तथा एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिनु भएको छ । सोमबार धनगढी पुग्नु भएकी अध्यक्ष श्रेष्ठले प्रदेशसभा सदस्यहरूसँग भेट्दै सभामुख चयनमा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिनु भएको हो ।