१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अमेरिकामा ‘आरआरआर’ ले जित्यो क्रिटिक्स च्वाइस अवार्ड


351
Shares

एजेन्सी । अमेरिकामा दक्षिण भारतीय निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ ले अर्को अवार्ड जितेको छ ।

‘आरआरआर’ ले अमेरिकाको लस एन्जल्समा आयोजित समारोहमा उत्कृष्ट गीत र उत्कृष्ट विदेशी भाषी फिल्मको अवार्ड जितेको हो ।

फिल्मले अहिले २८ औं क्रिटिक्स च्वाइस अवार्ड जितेको छ । गोल्डेन ग्लोबपछि ‘आरआरआर’ को यो अर्को उपलब्धी हो । क्रिटिक्स च्वाइस अवार्डले आफ्नो ट्विटर अकाउन्टमा निर्देशक राजामौलीको भिडिओ सेयर गर्दै उक्त कुराको जानकारी दिएको छ ।

यसअघि फिल्मको गीत ‘नाटु नाटु’ ले अमेरिकामा गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीत मोशन पिक्चरको उपाधि जितेको थियो ।  

उत्कृष्ट विदेशी भाषी फिल्ममा ‘आरआरआर’ सँगै ‘अर्जेन्टिना १९८५, ‘बार्डो, ‘डिसिजन टु लिभ र अल क्वाइट अन द वेस्टर्न फ्रन्टु’ जस्ता फिल्मले प्रतिपर्धा गरेका थिए ।

निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ मा राम चरण, जुनियर एनटिआर र आलिया भट्ट प्रमुख भूमिकामा छन् । यस्तै अजय देवगनले अतिथि भूमिका निभाएका छन् । 

तेलुगू स्वतन्त्रता सेनानीहरू अल्लूरी सीताराम राजू तथा कोमाराम भीमको जिवनीबाट प्रभावित ‘आरआरआर’ लाई दर्शकले अत्यधिक मन पराएका छन् ।

फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिशविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ । ब्रिटिशले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिश राजमा सिपाही कसरी एकअर्काको साथी बन्छन् र ब्रिटिशविरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो ।