१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री दाहालद्वारा मन्त्रिपरिषद् विस्तार,को–को भए मन्त्री ?


2.405k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागवण्डा टुंगो लागेपछि दाहालले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । गत पुस १० गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र,राप्रपा,रास्वपा,जसपा,नागरिक उन्मुक्ति र जनमत पार्टीको समर्थनमा दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

पुस ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनु भएका दाहालले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको थियो । संसदबाट विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद विस्तार गर्ने बताउँदै आउनु भएका प्रधानमन्त्री दाहालले गत पुस २६ गते संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभाबाट विश्वासको मत लिनु भएको थियो । जसमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत दाहाललाई विश्वासको मत दिएको थियो । सत्ता गठबन्धनमा रहेका ददहरुबीच मन्त्रालयको भागवण्डा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको थियो ।

पुस ११ गते मन्त्रिपरिषद् गठन गर्दा विष्णु पौडेल,नारायण काजी श्रेष्ठ र रवि लामिछाने बाहेकको मन्त्रालय तोकिएको थिएन । मंगलबार थपिएका मन्त्रीहरुमा एमालेबाट ४ जना मन्त्री छन् । त्यसैगरी माओवादीबाट ३ जना मन्त्री र १ जना राज्यमन्त्री छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ जना मन्त्री र १ जना राज्यमन्त्री भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना मन्त्री र १ जना राज्यमन्त्री थपिएका छन् ।

मन्त्रीमा कुन पार्टीबाट को को थपिए ?

नेकपा एमालेबाट भगवती चौधरी,पद्म गिरी,डा. विमला राई पौडेल र हरि उप्रेती थपिएका छन् । यस अघि बिष्णु पौडेल,राजेन्द्र राई,ज्वाला कुमारी साह र दामोदर भण्डारी मन्त्री बनिसकेका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा,सुदन किराँती,अमनलाल मोदी र राज्यमन्त्रीमा सुशीला श्रीपाली थपिएका छन् । यस अघि नारायणकाजी श्रेष्ठ मन्त्री बनिसक्नु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र लिङदेन उपप्रधानमन्त्री,विक्रम पाण्डे र ध्रुव बहादुर प्रधान मन्त्री बनेका छन् भने दिपक बहादुर सिंह राज्यमन्त्री बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल,डोलप्रसाद अर्याल मन्त्री भएका छन् भने डा.तोसिमा कार्कीलाई राज्यमन्त्री बनाइएको छ । रबि लामिछाने यस अघि नै उपप्रधान तथा गृहमन्त्री बनिसक्नु भएको छ ।

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी भने सरकारमा गएका छैनन् । जनमत पार्टीबाट भने अब्दुल खान मन्त्री बनिसक्नु भएको छ ।