
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले १९ मन्त्री र ३ राज्यमन्त्रीसहित २३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेको छ । प्रधानमन्त्री दाहालले विस्तार गरेको मन्त्रिपरिषद्मा २३ मध्ये १५ जना नयाँ अनुहार भित्रिएका छन् । मन्त्रीमा नयाँ अनुहार मात्र हैन यस पटक केही मन्त्रालयमा विषय विज्ञता अनुसार मन्त्रीनियुक्त भएका छन् ।
नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने सात मध्ये ५ दलमात्र सरकारमा सहभागी भएका छन् । सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीको भागमा प्रधानमन्त्रीसहित ५ वटा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपाले ३/३ वटा मन्त्रालय र जनमत पार्टीले एउटा मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएको छ । एमाले, रास्वपा र राप्रपाले १/१ वटा राज्यमन्त्री पनि पाएका छन् ।
मन्त्रालय हाँक्न यस पटकको मन्त्रिपरिषद्मा नयाँ अनुहारको वर्चश्व देखिएको छ । राजनीतिमा भर्खर उदाएका दल मात्र नभई पुराना दलले पनि अधिकाशं नयाँ सासंदलाई मन्त्री बनाएका छन् । जसले पुराना र एउटै व्यक्ति मात्र मन्त्रीमा दोहोरिने परम्पराको अन्त्य भएको छ । नेकपा एमाले जिम्मेवारी पाएको ८ वटा मन्त्रालयमध्ये अर्थ मन्त्री विष्णु पौडेलबाहेक सबैले पहिलो पटक मन्त्रालयको बागडोरमा पुगेका छन् ।
एमालेले राष्ट्रिय सभा सदस्य डा. विमला पौडेल राईलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएको छ । यस्तै, एमालेले हरि उप्रेतीलाई रक्षा मन्त्रलय, पदम गिरिलाई स्वास्थ्य, ज्वालाकुमारी साहलाई कृषि, दामोदर भण्डारी उद्योग, राजेन्द्र राई भूमि र भगवती चौधरीलाई महिला बालबालिका मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर दिएको छ ।
यस्तै, माओवादी केन्द्रले पाएको ४ मध्ये २ मन्त्रालयमा नयाँ सांसदलाई मन्त्री र राज्यमन्त्री नियुक्त गरेको छ । माओवादी केन्द्रले पहिलो पटक संसद बनेका सुधन किराँतीलाई पर्यटन मन्त्री र अमनलाल मोदीलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको छ । माओवादीले सुशीला श्रीपालीलाई पर्यटन राज्यमन्त्रीमा नियुक्त गरेको छ ।
यसैगरि राप्रपाका राजेन्द्र लिङदेन पनि मन्त्रालय सम्हाल्ने नयाँ अनुहारामा पुर्नहुन्छ । यसअघि सांसद भएपनि अध्यक्ष लिङ्देनले पहिलो पटक उर्जा मन्त्रालयको नेतृत्व सम्हाल्न पुग्नुभएको छ । राप्रपाबाटै दिपक सिंह बोहोरालाई उर्जा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । राप्रपाबाट पहिलो पटक सासंद बनेका ध्रुब प्रधानलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नेपाली राजनीतिमा भर्खरै मात्र उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ३ वटा मन्त्रालयको जिम्मेवारी पाएको छ । सो पार्टीबाट मन्त्री भएकाहरु विषयको विज्ञ पनि छन् । शिक्षा मन्त्री शिशिर खनाल र श्रममन्त्री डोलप्रसाद अर्याल तथा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की नियक्त हुनुभएको छ । शिक्षा मन्त्री खनाल लामो समयदेखि शिक्षा क्षेत्रमै कार्यरत हुनुहुन्छ । खनाल टीच फर नेपालका संस्थापक हुनुहुन्छ भने नेपालमा पहिलो पटक टीच फर नेपाल भित्र्याउने मन्त्री खनाल नै हुन् । यस्तै, श्रम मन्त्रीमा नियुक्त अर्याल रेमिटयान्स व्यवसायी हुन् । अर्यालसँग जापानमा बसेर श्रम तथा रोजगार क्षेत्रमा काम गरेको अनुभव समेत छ । यस्तै स्वास्थ्य राज्य मन्त्रीमा नियुक्त भएकी डा कार्कीसँग स्वास्थ्य क्षेत्रको राम्रै अनुभव छ ।
यता, मुलधारको राजनीतिमा भखरै मात्र आएको सिके राउत नेतृत्वको जनमत पार्टीबाट पनि अब्दुल खानलाई खानेपानी मन्त्री नियुक्त गरिएको छ । गत निर्वाचनले जनताले परिवर्तनका लागि नयाँ अनुहार चाहेको स्पष्ट पारिसकेको छ । केही गर्ने हुटहुटी बोकेर सरकारमा समले भएका नयाँ अनुहार र पुराना राजनीतिक दलबाट आएका नयाँ अनुहारलाई अब पनि विभिन्न बहाना र बिचौलियाको चंगुलमा फसेर पछि हट्ने सुविधा छैन ।
प्रतिक्रिया दिनुहोस्