
काठमाडौं । पोखरामा गत आइतबार भएको विमान दुर्घटनामा परेका मध्ये २२ जनाको शव उनीहरूका आफन्तलाई बुझाइएको छ ।
मंगलबार साँझसम्म ७१ जनाको शव भेटिएको मध्ये सनाखत भएका २२ जनाको शव पोखराबाटै हस्तान्तरण गरिएको कास्की जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दुर्घटनामा परेका एक जनाको अवस्था अझै अज्ञात रहेको छ भने ४८ वटा शव मंगलबार काठमाडौं ल्याइएको थियो ।
सनाखत हुन नसकेका, विदेशी नागरिक तथा चालक दलका सदस्यहरूको शव काठमाडौं ल्याइएको हो । क्षत विक्षत अवस्थामा रहेका शवहरूको डीएनए परीक्षण गरी पहिचान गर्नुपर्ने भएकाले काठमाडौं ल्याइएको हो ।
दुर्घटनाग्रस्त विमानमा ७२ जना रहेका थिए ।
यसैबीच, पोखरा विमान दुर्घटनामा ज्यान गुमाएका ४ जना भारतीय नागरिकका परिवारलाई उत्तर प्रदेश सरकारले प्रतिव्यक्ति ८ लाख रूपैयाँ दिने भएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विमान दुर्घटनामा मृत्युभएका उत्तर प्रदेशको गाजीपुरका ४ युवाका परिवारलाई ८ लाखका दरले सहयोग गर्ने घोषणा गर्नुभएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्